दाङ, २३ माघ ।
सल्यानमा टिमुर उत्पादन घट्दै गएको छ । कृषि विकास कार्यालयका अनुसार यो वर्ष टिमुर उत्पादन झण्डै ५० प्रतिशत घटेपछि जिल्लाका किसानलाई जीविकोपार्जनमा समस्या भएको छ ।
त्यहाँका १ सय ८ किसानले फार्म दर्ता गरेरै व्यावसायिक रुपमा टिमुर खेती गर्दै आइरहेको कार्यालयको तथ्यांक छ । पर्याप्त वर्षा नहुँदा र ढुसी रोगका कारण टिमुर उत्पादन घटेको कार्यालयका प्राविधिक रोशन शर्माले बताउनुभयो ।
उहाँका अनुसार फल फल्ने बेलामा वर्षा नभएको र फलेका फल पाक्ने समयमा अत्यधिक वर्षा भएका कारण ढुसीको प्रकोप देखिएको हो । बारीमा लगाएको करिब १ सय बोटमा उत्पादन नै नभएपछि यो वर्ष मसलाको रुपमा प्रयोग गर्ने टिमुरसमेत नभएको सिद्धकुमाख गाउँपालिकाको माझखर्कका नेत्रबहादुर बस्नेतले बताउनुभयो ।
यो वर्ष जिल्लाका सामुदायिक वनहरूमा उत्पादन हुने टिमुरको उत्पादनसमेत घटेको डिभिजन वन कार्यालयका प्राविधिक विजय पुलामीले बताउनुभयो । उहाँका अनुसार अहिले जिल्लाभरि उत्पादन भएको टिमुरको परिणामबारे तथ्यांक संकलन भइरहेको छ । गत वर्ष ५ सय मेट्रिक टन टिमुर उत्पादन भएको थियो ।
त्यसमध्ये करिब २ सय मेट्रिक टन विभिन्न सामुदायिक वनमा उत्पादन भएको र ३ सय मेट्रिक टन टिमुर किसानले उत्पादन गरेको उहाँले जानकारी दिनुभयो । उहाँले यो वर्ष करिब ४० देखि ५० प्रतिशत उत्पादनमा घटेको अनुमान गर्नुभएको छ ।
जिल्लामा टिमुरबाट बर्षेनि १६ देखि २० करोड रुपैयाँ भित्रिने गरेको उहाँको भनाइ छ । सल्यानमा उत्पादित टिमुर नेपालका प्रमुख सहरसहित भारत र फ्रान्समा समेत जाने गरेको छ ।