तुलसीपुर, १३ माघ ।
दाङको तुलसीपुर-१२ टरिगाउँस्थित विमानस्थलमा आजदेखि सीता एयरले विमान सेवा दिने भएको छ ।
निजी विमान कम्पनी सेवा सीता एयरले आज (शुक्रबार) परीक्षण उडान गर्ने भएको छ ।
दिउँसो १ बजे सीता एयरको १९ सिटे विमानले परीक्षण उडान भर्ने टरिगाउँ एयरपोर्टका विमानस्थल प्रमुख गणेश आचार्यले जानकारी दिनुभयो । हाल नेपाल वायु सेवा निगमको १९ सिटे ट्वीनअटर हप्तामा चार दिन तुलसीपुरमा उडान भर्ने गरेको छ ।
आइबार, मङ्गलबार, बिहीबार र शनिबार उडान हुने गरेको हो । हाल टरिगाउँबाटै इन्धन डिपो स्थापना भई सञ्चालनमा पनि आइसकेको छ ।
तर भाडा भने घट्न सकेको छैन । हाल दाङबाट काठमाडौँको न्यूनतम रु आठ हजार आठ सय १० र काठमाडौँबाट दाङको भाडा न्यूनतम रु नौ हजार बढीदेखि अधिकतम १२ हजारभन्दा बढी रहेको छ ।
निजी विमान सञ्चालन भएसँगै भाडा घट्ने अपेक्षा गरिएको छ । साथै हाल रहेको सात सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग पनि विस्तार गर्न सकेमा ठूला जहाज बस्ने र भाडा पनि सस्तो हुने अपेक्षा छ ।