
दाङ, १८ चैत । टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा नहुँदा जहाजले यात्रु पाउन मूस्किल पर्ने परेको छ ।
तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा आज तीन महिनापछि आएको जहाजले २ यात्रु लिएर काठमाडौँ गएको छ । काठमाडौंबाट दाङ आउँदा ८ जना यात्रु भएपनि दाङबाट २ जना मात्रै काठमाडौं गएका हुन् ।
नेपाल एयरलाइन्सका स्टेसन इञ्चार्ज बलबहादुर सुनारले अबदेखि प्रत्येक सोमबार उडान हुने जानकारी दिनुभयो । उहाँले यात्रुको मागअनुसार उडान थप गर्न पनि सकिने बताउनुभयो ।
विमानस्थलमा हवाई सेवा पटक–पटक अवरुद्ध हुँदै आएको छ । यस पटक गत पुस २ गतेदेखि हवाई सेवा अवरुद्ध भएको थियो ।
विमानस्थलमा जहाज नियमित हवाई सेवा नहुँदा यात्रु नेपालगञ्ज वा भैरहवा जानुपर्ने बाध्यता छ । विमानस्थलको धावनमार्ग सानो हुँदा ठूला जहाज बस्न सकेका छैनन् ।
अहिले १९ सिटे जहाज मात्रै सञ्चालन हुँदा पनि अनियमित हुने हुँदा यात्रु भैरहवा वा नेपालगञ्ज जानुपर्ने अवस्था रहेको छ ।
हाल विमानस्थलको धावनमार्ग ७५० मिटर रहेको छ । उक्त धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटक–पटक उठ्ने गरेको छ ।