सल्यान, १३ कार्तिक ।
सल्यानको कपुरकोट गाउँपालिकाले शारीरिक अपांगता भएका बालबालिकाको निःशुल्क उपचार गर्ने भएको छ । शारीरिक अपांगता भएकाले आर्थिक अभावमा उपचारबाट वञ्चित हुन नपरोस् भनी गाउँपालिकाले शारीरिक अपांगता भएकाहरूको निःशुल्क उपचार गर्ने भएको हो ।
विकलाङ्ग समूह तथा अपांग बालबालिकाको निःशुल्क उपचार गर्न कपुरकोट गाउँपालिकाले अपांग बाल अस्पताल पुनःस्थापना केन्द्र बनेपासँग पाँचवर्षीय सम्झौता गरेको छ ।
सम्झौताअनुसार गाउँपालिकाले आफ्नो पालिकाभित्रका १८ वर्षसम्मका शारीरिक अपांगता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनःस्थापना,सहायक सामग्री तथा कृत्रिम अंग उपलब्ध गराउनेछ ।
आर्थिक अभावका कारण सामान्य उपचारबाट वञ्चित भई विभिन्न किसिमका समस्या भोग्दै आएका बालबालिकाको उपचार गर्न र उनीहरुलाई सामान्य अवस्थामा फर्काउन निःशुल्क उपचार गर्न थालिएको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले बतउनुभयो ।
अपांगता भएका बालबालिकालाई आवश्यकताअनुसार शिविर सञ्चालन गरेर उपचार गरिने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्षको तथ्यांकअनुसार कपुरकोट गाउँपालिकामा विभिन्न किसिमका शारीरिक अपांगता भएका झन्डै ३ सय बालबालिका छन् ।
अपांगता भएका बालबालिकाको निःशुल्क उपचार गर्न अपाङ्ग बाल अस्पताल पुनःस्थापना केन्द्र बनेपासँग सम्झौता भएपश्चात पुनःस्थापना केन्द्रले ८५ प्रतिशत सहयोग गर्ने र १५ प्रतिशत पालिकाले सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत भरतकुमार ओलीले बताउनुभयो ।
विगतमा बाल अस्पताल पुनःस्थापना केन्द्रले कहिलेकाहिँ शिविर सञ्चालन गरेर उपचार गर्दै आए पनि पालिकाले नियमित उपचार गर्न थालेको पहिलो भएको उहाँले जानकारी दिनुभयो ।
गत वर्षको तथ्यांकअनुसार पालिकाभित्र विभिन्न खालका अपांगता भएका ३ सय बालबालिका भए पनि अपाङ्ग बाल अस्पताल पुनःस्थापना केन्द्र बनेपासँग सम्झौता भएलगत्तै अपांगता पहिचानको काम सुरु भएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार पालिकाले औषधि, मेडिकल सामग्री, शल्यक्रिया, बेड तथा खानाबापत लाग्ने खर्चको व्यवस्था गर्नेछ । अपांङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सहायक सामग्रीहरू कृत्रिम हातखुट्टा, ह्वील चियर, वाकर, वैशाखी, काम्रो आदि सामग्री निःशुल्क रुपमा उपलब्ध गराउनेछ ।
अपांगता पुनःस्थापना केन्द्रका सुपरभाइजर होमराज केसीले सल्यानका १० पालिकामा अपांगता भएका धेरै बालबालिका भएका र विगतमा पनि शिविर सञ्चालन गरेर उपचार गर्ने क्रममा सबैलाई समेट्न नसकेपछि पालिकाअनुसार सम्झौता गरेर विशेषज्ञ टोलीसहित उपचार गर्न थालिएको बताउनुभयो ।
यस कार्यले पालिकाका सबै अपांगता भएका बालबालिकाले सहज उपचार पाउने उहाँको भनाइ छ ।