दाङ, ३ कार्तिक ।
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा दाङबाट चार लाख बढीले मताधिकार प्रयोग गर्न पाउने भएका छन् ।
प्रत्यक्षतर्फ प्रतिनिधि सभाको तीन र प्रदेश सभाको ६ निर्वाचन क्षेत्रबाट ४ लाख १४ हजार ९५६ जना मतदाताले मताधिकार प्रयोग गर्न पाउने भएका हुन् ।
गत बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा ४ लाख ९ हजार ९ सय मतदाता रहेकोमा आगामी मंसिर ४ मा हुने आम निर्वाचनमा निवार्चनमा ५ हजार ५६ मतदाता थप भएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सुचना अधिकारी गहेन्द्र कुँवरले जानकारी दिनुभयो ।
प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार जिल्लामा आगामी मंसिर चारमा हुने आम निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने पुरुष मतदाताको तुलनामा महिला मतदाताको संख्या बढी रहेको छ ।
पुरुष मतदाताको तुलनामा महिला मतदाता ७ हजार १ सय ३८ बढी रहेका छन् । जिल्लामा आगामी मंसिर ४ मा १८ वर्ष पुरा हुने २ लाख ३ हजार ९ सय ८ जना पुरुष मतदाता रहेका छन् भने २ लाख ११ हजार ४६ जना महिला मतदाताले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने भएका छन् ।
दाङमा आगामी निर्वाचनमा दुई जना अन्य मतदाताले भोट हाल्न पाउने प्रदेश निर्वाचन कार्यालय दाङका सुचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार दाङ क्षेत्र नम्बर १ र ३ बाट १÷१ जना अन्य मतदातालाई आगामी निर्वाचनमा भोट हाल्न पाउने अधिकार प्राप्त भएको छ ।
क्षेत्र नम्बर ३ मा सबैभन्दा बढी मतदाता
दाङमा प्रतिनिधि सभाको तीन वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ३ मा सबैभन्दा बढी मतदाता रहेका छन् भने सबैभन्दा कम क्षेत्र नम्बर २ मा रहेका छन् ।
प्रदेश निर्वाचन कार्यालय घोराहीका अनुसार क्षेत्र नम्बर ३ मा १ लाख ४६ हजार ४७५ मतदाता रहेका छन् । यस्तै क्षेत्र नम्बर १ मा १ लाख ३४ हजार ७३३ र क्षेत्र नम्बर २ मा १ लाख ३३ हजार ७४८ जना मतदाताले आगामी निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने प्रदेश निर्वाचन कार्यालय दाङका सुचना अधिकारी कुँवरले जानकारी दिनुभयो ।
यस्तै जिल्लामा प्रदेश सभाको ६ वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी क्षेत्र नम्बर ३ को २ मा रहेका छन् भने सबैभन्दा कम २ को १ मा रहेका छन् । प्रदेश सभातर्फ क्षेत्र नम्बर १ को १ मा ७० हजार २६७ र २ मा ६४ हजार ४६६ मतदाता रहेका छन् ।
यस्तै क्षेत्र नम्बर १ को १ मा ६३ हजार ३२२ र २ मा ७० हजार ४२६ जना मतदाताले आगामी निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । यस्तै प्रदेश सभाको क्षेत्र नम्बर ३ को १ मा ६६ हजार ४८६ जना र २ मा ७९ हजार ९८९ जनाले निर्वाचनमा मत हाल्न पाउने भएका छन् ।