२०८१ माघ ८ गते मङ्गलवार

मंसिरमा हुने आम निर्वाचनको चुनावी सरगर्मी बढ्दै

दाङ, २७ भदौ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दललाई उमेदवार छनौटदेखि चुनावी कार्यक्रमको चटारो छ ।

४ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा हुँदै छ । निर्वाचन आयोगको सिफारिसमा सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै चुनावी सरगर्मी बढेको छ ।

नेपालीहरूको महानपर्व दसैं, दीपावली, छठ पर्व सकिएलगतै हुने निर्वाचनका लागि मतदाता रिझाउन राजनीतिक दलका नेताले चुनावी गतिविधिलाई सक्रिय बनाउन थालेका छन् ।

विभिन्न पार्टीका शीर्ष नेता जिल्लास्थित चुनावी बैठक, सभा, प्रशिक्षणलगायतका कार्यक्रममा सहभागी भइरहेका छन् । उम्मेदवारका आकांक्षी जनताबीच पुग्ने तथा उनीहरूसँग नजिक हँुदै रिझाउने काममा लागेका छन् । आगामी निर्वाचनमा दाङको तीन वटै संघीय र ६ वटै प्रदेश निर्वाचन क्षेत्रमा पनि संभावित उम्मेदवारको चर्चा सुरु भएको छ ।

दाङ क्षेत्र नं. २ मा एमालेबाट पोखरेल र माओवादीबाट महराबिच रोचक प्रतिष्पर्धा

यसपटकको निर्वाचनमा लुम्बिनी प्रदेशको राजधानी दाङको तीन वटा क्षेत्रमध्ये क्षेत्र नं २ को चुनावी भिडन्त रोचक हुने देखिएको छ। दुई पार्टीका उपाध्यक्ष र महासचिवबीचको प्रतिस्पर्धा रोचक हुने देखिएको हो।

माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा उम्मेदवार बन्ने सुनिश्चित भएसँगै जिल्लामा रहेका छन्। उनी नेता कार्यकर्ता र जनताबीच भेटघाटमा ब्यस्त छन्।

यस्तै एमालेबाट पार्टीका महासचिव शंकर पोखरेल उम्मेदवार बन्ने निश्चितप्राय छ। गत निर्वाचनमा क्षेत्र नं २बाट प्रदेश सभामा निर्वाचित भएका पोखरेल यसपाली संघीय निर्वाचनको प्रमुख दाबेदार भएको एमालेकै जिल्लास्तरका नेताहरुले बताउँदै आएका छन्।

प्रकाशित मिति : २०७९ भाद्र २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस