२०८१ फाल्गुन ३ गते शनिवार

जोखिम भत्ता नपाउँदा स्वास्थ्यकर्मीमा निराशा



दाङ, २८ असार ।
कोरोना महामारीको जोखिममा खटिएका स्वास्थ्यकर्मीले अझैसम्म पनि जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । उनीले तीन वर्षदेखिको जोखिम भत्ता अझै पनि नपाएका हुन् । जोखिम भत्ता नपाउनेमा स्थानीय तहका स्वास्थ्यकर्मीहरू बढी रहेका छन् ।

तुलसीपुर उपमहानगरका जनस्वास्थ्य निरीक्षक बिमल केसीले विगत तीन वर्षदेखि स्वास्थ्यकर्मीले पाउने जोखिम भत्ता नपाएको बताउनुभयो । कोरोना संक्रमणदर बढिरहेको समयमा पनि ज्यानलाई हत्केलामा राखेर बिरामीको सेवा र समन्वयमा निरन्तर स्वास्थ्यकर्मीहरू खटिएपनि जोखिम भत्ता नपाउँदा निराशा हुनुपरेको उहाँको भनाई छ ।

आर्थिक वर्ष ०७६/०७७ देखिकै जोखिम भत्ता नपाएको र अब आशा पनि हराउँदै गएको उहाँले बताउनुभयो । सरकारले जोखिम भत्ता ५० प्रतिशत उपलब्ध गराउने भनेपछि स्वास्थ्यकर्मीहरूले पनि त्यहि अनुसार सेवामा लागेका थिए ।

तुलसीपुरमा रहेका १ सय ६४ स्वास्थ्यकर्मीहरूले कसैले पनि जोखिम भत्ता पाएका छैनन् । तुलसीपुरमा संघिय सरकारबाट ८५ लाख रूपैयाँ आउनुपर्ने रकम नआएको जनस्वास्थ्य निरिक्षक केसीले जानकारी दिनुभयो । प्रदेश टुडे दैनिकमा खबर छ ।

प्रकाशित मिति : २०७९ असार २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस