काठमाडौं । तिहारको देउसी–भैलो परम्परालाई समसामयिक दुःखद घटनासँग जोड्दै गायक तथा सर्जक जित सागर रावतले नयाँ गीत ‘दानी भाइ’ सार्वजनिक गरेका छन्। मनोरञ्जनसँगै सामाजिक संवेदना र नेपाली मौलिक संस्कृतिको सन्देश बोकेको गीतले यस वर्षको तिहारलाई भावनात्मक रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ।
गीतमा भाद्र १० गते भोटेकोशी क्षेत्रमा गएको विनाशकारी बाढीमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ। बाढीका कारण प्रभावित परिवारको पीडा, बिछोड र अधुरो सपनालाई देउसी–भैलोको कथामार्फत सांगीतिक रूपमा उतारिएको छ।
‘दानी भाइ’मा पौराणिक बलिराजाको कथालाई पनि समेटिएको छ। जुवा खेल्दै स्वर्गलोक पुगेका ज्वारे भाइलाई एक दिनका लागि इन्द्रको राजा बनाइएको र उनले स्वर्गको धनसम्पत्ति दान गरेपछि इन्द्रको श्राप भोग्नुपरेको प्रसङ्ग गीतमा प्रस्तुत गरिएको छ। यही कथालाई बलिराजाको जन्मसँग जोडेर तिहारको धार्मिक तथा सांस्कृतिक पक्षलाई उजागर गरिएको छ।
गीतमा शान्तिश्री परियार र जित सागर रावतको स्वर सुन्न सकिन्छ। शब्द तथा संगीत रावतकै रहेको गीतमा सुदीप सागरको संगीत संयोजन, श्यामश्वेत रसाइलीको मिक्सिङ र प्रिज्मा डिजिटलको प्राविधिक सहकार्य रहेको छ।
समीर ठोकरको निर्देशनमा तयार भएको भिडियोमा कविता न्यौपाने, गोविन्द पहाडी, सुर्बिर पण्डित (दारी बा), लक्ष्मी गिरी, झुपेन्द्र रोकाया र तिलक बुढाथोकीलगायत कलाकारले अभिनय गरेका छन्। भिडियोको सह–निर्देशन जित सागर रावतले गरेका हुन् भने छायांकन अजय रेग्मी र सम्पादन तथा रङ संयोजन प्रवीण भट्टले गरेका छन्।
सामान्यतया तिहारमा देउसी–भैलो गीतले उत्सव, रमाइलो र मनोरञ्जनलाई प्राथमिकता दिने गर्छन्। तर ‘दानी भाइ’ले उत्सवको रौनकभित्र लुकेको मानवीय पीडा र बिछोडको कथालाई समेत समेटेको छ। नेपाली मौलिक परम्परालाई नयाँ पुस्तासम्म पुर्याउँदै विपद्मा ज्यान गुमाएकाहरूको सम्झना जीवित राख्ने उद्देश्यले तयार गरिएको यो गीतले दर्शक तथा स्रोतामाझ छुट्टै भावनात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।


