दाङ, १७ जेठ । जिल्ला प्रहरी कार्यालय दाङले जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने कार्यमा संलग्न ६ वटा ढुवानी साधनहरूलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले दिएको जानकारी अनुसार जेठ ८ गतेदेखि जेठ १५ गतेसम्मको अवधिमा जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले ती ढुवानी साधनहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार दाङ जिल्लाको विभिन्न स्थानमा अवैध रूपमा ढुङ्गा, बालुवा र गिट्टी जस्ता नदीजन्य पदार्थ ओसारपसार गरिरहेको अवस्थामा १ वटा ट्रिपर र ५ वटा ट्र्याक्टरलाई फेला पारी नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएका साधनहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको थियो । प्रक्रिया अनुसार ती साधनहरूबाट कुल १ लाख ६५ हजार जरिवाना गराएर सम्बन्धित व्यक्तिहरूको जिम्मा लगाई पठाइएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।
स्थानीय नदी तथा खोलाहरूबाट अवैध रूपमा उत्खनन र ओसारपसार गर्ने कार्यलाई निरुत्साहित गर्न प्रहरीले निगरानी तीव्र पारेको जनाएको छ ।



