२०८३ असार ७ गते आइतवार

सल्यानमा जन्ती सवार गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु

सल्यान, ५ बैशाख । सल्यानमा शनिबार दिउँसो जन्ती बोकेको गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भिर रहेको छ । यस्तै सात जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । मृत्यु हुने र घाइते हुने सबै जना एउटै वडाका हुन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार दुर्घटनामा गम्भिर घाइते बनगाड कुपिन्डे नगरपालिका वडा नम्बर ८ थाराका ५० वर्षिय टोप बहादुर थापा, ५० वर्षिय ठगे घर्ती, २९ वर्षिय कर्ण बहादुर पुन र ३० वर्षिय मन बहादुर थापाको मृत्यु भएको छ ।

तीन जनालाई जिल्ला अस्पताल सल्यानमा चिकित्सकले शानिबार राती मृत घोषण गरेका हुन् भने एक जनाको सुर्खेतस्थित मेहलकुना अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

दुर्घटनामा सल्यानको बनगाड कुपिण्डे नगरपालिका–८ का ४९ वर्षिय भुपेन्द्र कँवर, ३० वर्षिय भुल बहादुर थापा, ५६ वर्षिय जुग सिहं पुन , सोही ठाउँकै ३८ वर्षिय कुल बहादुर राना, ६४ वर्षिया अम्मर सिहं कँवर, २७ वर्षका डम्मर घर्ती र ३० वर्षिया जनक थापा गम्भिर घाइते हुनुभएको छ ।

यस्तै दुर्घटनामा घाइते बनगाड कुपिण्डे नगरपालिका–८ का ३८ वर्षका अम्मर पुन, २८ वर्षका नरसिङ थापा, २५ वर्षका प्रेम बहादुर घर्ती, २५ वर्षकै नर बहादुर थापा, ३८ वर्षका कर्ण बहादुर थापा, ४५ वर्षका लाल बहादुर घर्ती र १५ वर्षका तिलक थापाको अवस्था मध्यम रहेको छ ।

घाईतेमध्ये केहिको जिल्ला अस्पताल सल्यान उपचार भइरहेको छ भने केहि सुर्खेतको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ ।

बनगाड कुपिण्डे नगरपालिकाको वडा नं. ८ थारादेखि कालिमाटी गाउँपालिका वडा नम्बर १ को लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ज ०२७१ नम्बरको बोलेरो गाडी शनिबार साँझ ४ बजेतिर बनगाड कुपिन्डे नगरपालिका वडा नं. १० धाइरेमा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार गाडी सडकबाट करिब ८४ मिटर तल खसेको छ । भौगोलिक विकटताका कारण करिब ४ घण्टापछि मात्रै सबैलाई उद्दार गरेर अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

बनगाड कुपिन्डे नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष कुल बहादुर पुरीका अनुसार बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ थाराका मनबिर थापाले ढोग खुलाउन (माइती मान्न) शानिबार कालिमाटी गाउँपालिकाको लक्ष्मीपुर जान तीन वडा गाडी रिर्जव गर्नुभएको थियो । करिब १० वर्षअघि २०७२ सालमा बिहे गरेका मनबिरले शनिबार माइती मान्न (ढोग खुलाउन) जाने कार्यक्रम थियो ।

तीन वडा गाडीमध्ये एउटामा राँगा र एउटामा दुलाह–दुलही सवार थिए । एउटा गाडीमा भने १८ जना जन्ती सवार थिए । त्यही १८ जना जन्ती सवार गाडी दुर्घटनामा परेको हो । दुलाहको घर थाराबाट छुटेको करिब आधा घण्टामै गाडी दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति : २०८३ बैशाख ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस