सल्यान, २५ वैशाख । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दार्मा गाउँपालिका–२ भुसखोलामा शुक्रबार ट्याक्टर दुर्घटना हुँदा चालक सोहि ठाउँका १७ वर्षीय प्रदीप विकको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक विकलाई उपचारका लागि थुम्के सल्ली स्वास्थ्य चौकी दार्मा पुर्याइएको थियो । स्वास्थ्यकर्मीले उहाँलाई दिउँसो साढे १ बजे मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा अरु दुई जना घाइते भएका छन् । दुर्घटनामा परी ट्याक्टरमा सवार १७ वर्षीय टेकबहादुर विक सामान्य घाइते भएका छन् । २२ वर्षीय विशाल विकको दाहिने हातमा चोट लागेको र थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
फारुलाचौरबाट भुसखोलातर्फ जाँदै गरेको रा १ त ४४९५ नम्बरको खाली ट्याक्टर दिउँसो करिब १ बजे सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।




