कपुरकोट, २९ जेठ । ज्योति विकास बैंक कपुरकोट शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कपुरकोट गाउँपालिकाका विभिन्न विद्यालयहरूलाई खानेपानीको हिल ट्याङ्की र कम्प्युटर लगायतका सामाग्रीहरू वितरण गरेको छ।

कपुरकोट गाउँपालिकाका अध्यक्ष, सम्बन्धित वडाका वडाध्यक्षहरू तथा विद्यालय परिवारका जिम्मेवार प्रतिनिधिहरूको उपस्थितिमा कुल २ लाख ४० हजार रुपैयाँ बराबरका सामाग्रीहरू हस्तान्तरण गरिएको हो।

बैंकले कपुरकोट १ कालापातलास्थित श्री सरस्वती प्राविलाई कम्प्युटर सेट र कपुरकोट १ लामपोखरास्थित जनचेतना प्राविलाई विद्युतीय फिल्टर तथा हिल ट्याङ्की सहयोग गरेको छ।

यसैगरी, कपुरकोट ४ मा रहेको केउरेनी आधारभूत विद्यालयलाई कम्प्युटर सेट र कपुरकोट २ दानबाङस्थित सरस्वती आधारभूत विद्यालयलाई विद्युतीय फिल्टर तथा हिल ट्याङ्की हस्तान्तरण गरिएको छ।
स्थानीय तहका जनप्रतिनिधि र विद्यालयका प्रतिनिधिहरूको उपस्थितिमा आयोजित एक कार्यक्रमका बीच ती सामाग्रीहरू सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको हो।



