दाङ, २६ असोज । दाङसहित देशका अधिकांश तराईका भुभागमा किसानहरू धानबाली भित्र्याउन व्यस्त भएका छन् । दशैं सकिएलगत्तै खेतमा धान काट्ने, झार्ने कामले किसानहरु व्यस्त बनेका हुन् । दाङ उपत्यकाको तुलनामा देउखुरी उपत्यकामा धेरै किसानले धानबाली भित्र्याएका छन् ।
यस वर्ष समयमै वर्षा भएकाले धेरै ठाउँमा धानबाली राम्रो भएको छ । तुलसीपुर उपमहानगरपालिका–१२ का किसान हरि चौधरीले गतवर्षको तुलनामा यसवर्ष राम्रो धानबाली भएको बताउनुभयो । उहाँले तिहारअघि नै धान भित्र्याउने योजनामा रहेको बताउनुभयो ।
धान भित्र्याएपछि धेरै किसानले तिहारका खर्चका लागि धान बिक्री गर्छन् । दाङमा उत्पादन हुने अधिकांश धान स्थानीय बजार र मिलमा बिक्री गर्ने गरिएको छ ।
कृषि ज्ञान केन्द्र दाङका सुचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार यो वर्ष जिल्लामा करिब ३७ हजार २२५ हेक्टरमा धान खेती गरिएको छ ।
सूचना अधिकारी लामिछानेले जिल्लामा अहिलेसम्म करिब १० प्रतिशत खेतमा भित्र्याउने काम भइसकेको बताउनुभयो । गतवर्षको तुलनमा यसवर्ष वर्षातको कारण धान काट्न ढिला शुरु भएको हो ।


