दाङ, २६ साउन । पार्टीको अनुशासन उल्लंघन गरेको आरोपमा पाँच वर्षअघि निष्कासनमा परेका नेपाली कांग्रेस पश्चिम दाङका ६ नेताको कारबाही फुकुवा भएको छ ।
शान्तिनगर गाउँपालिका–५ का हेमन्तकुमार योगी, शान्तिनगर–२ का तारा वली, शान्तिनगर–५ का निमबहादुर बस्नेत, दंगीशरण गाउँपालिका–६ का बालाराम डाँगी, दंगीशरण–५ का सुनिल न्यौपाने र तुलसीपुर उपमहानगरपालिका–३ का मोहन गुरुङ पार्टीमा पुनः सक्रिय भएका हुन् ।
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुँगानाले साउन २२ गते दाङ जिल्ला पार्टी सभापति शंकरप्रसाद डाँगीलाई पत्राचार गर्दै कारबाही फुकुवा गरिएको जानकारी दिनुभएको हो ।
पाँच वर्षको कारबाही अवधि पूरा गरेर गत असार १० गते पार्टीमै रही काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनीहरूले केन्द्रीय अनुशासन समितिमा निवेदन दिएका थिए । समितिले त्यसलाई स्वीकृति दिँदै कारबाही हटाएको हो ।

स्रोतका अनुसार, यी सबै नेता पार्टीभित्र संस्थापन पक्षधर हुन् । उनिहरु केन्द्रीय सदस्य गेहेन्द्र गिरीका निकटका मानिन्छन् । नेता गिरीले केन्द्रीय समितिको बैठकमा उनीहरूको कारबाही फुकुवाका लागि निरन्तर पहल गर्दै आउनुभएको थियो ।
अगाडि अनुशासनको कारबाहीका कारण पार्टीबाट निष्कासनमा परेका यी नेताहरूलाई पार्टीले समर्थन गरेका वा आधिकारिक उम्मेदवारविरुद्ध उभिएको आरोप लागेको थियो । तर, पुनः पार्टीको लाइनमा फर्किएपछि उनीहरूले औपचारिक रूपमा संगठनमा काम गर्ने बाटो खुलेको छ ।


