२०८३ भाद्र १५ गते सोमवार

पानी सबैले निशुल्क खान पाउनुपर्छ : अध्यक्ष वली

तुलसीपुर, ६ पुस । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका नव विर्वाचित केन्द्रीय अध्यक्ष खेमराज वलीले हरेक नागरिकको घरमा निशुल्क खानेपानी पुर्‍याउनुपर्ने बताउनुभएको छ ।

प्रेस सेन्टर तुलसीपुर नगर समितिले आयोजना गरेको बधाई तथा पत्रकार भेटघाट कार्यक्रममा उहाँले संविधानले हरेक नागरिकलाई शुद्ध खानेपानी प्राप्त गर्नु मौलिक अधिकारको प्रत्याभूति गरे पनि व्यवहारमा लागू हुन नसकेको बताउनुभयो ।

सरकारले चारवटा मोडेलमा खानेपानी क्षेत्रमा काम गरिरहेको बताउँदै उहाँले कुनै मोडेलमा निशुल्क छ भने कतै शुल्क लिइएको बताउनुभएको छ । यसले नागरिकहरूबीच विभेद पैदा गरेको छ । सबैलाई समान रूपले निशुल्क खानेपानी उपलब्ध गराउनु सरकारको दायित्व रहेको उहाँको भनाई छ । 

वलीले एशियाली विकास बैंक (ब्मद) बाट एक प्रतिशत ब्याजदरमा लिइएको कर्जा खानेपानी संस्थाहरूलाई ८ प्रतिशतमा लगानी गरेर राज्यले नै व्यापार गरेको आरोप लगाउनुभयो । यस्तै खानेपानी वितरणका लागि प्रयोग हुने विद्युत महसुलमा छुट आवश्यक रहेको भन्दै उहाँले यसका लागि पनि पहल शुरु भैसकेको जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा निवर्तमान अर्थमन्त्री धनबहादुर मास्कीले लुम्बिनी प्रदेश  सरकारले लिएको खानेपानी क्षेत्रप्रतिको नीति प्रभावकारी नभएको बताउनुभयो । उहाँले वर्तमान सरकारको खानेपानीसम्बन्धी नीति र योजना अपर्याप्त भएको बताउँदै जनघनत्व बढ्दै जाँदा अनुकूल हुन नसकेको जिकिर गर्नुभयो ।

कार्यक्रममा तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संसथाका उपाध्यक्ष सिताराम शर्मा,नेकपा माओवादी तुलसीपुरका इन्चार्ज डिल्ली अधिकारी,प्रेम प्रभात वली लगातले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

नवनिर्वाचित केन्द्रिय अध्यक्ष ओली  तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको वि.सं २०६४ सालदेखि लगातार चार कार्यकाल अध्यक्ष रहनुभएको थियो भने महासंघको निवर्तमान उपाध्यक्ष हुनुहुन्छ ।

प्रेस सेन्टर तुलसीपुरका उपाध्यक्ष विशाल परियारको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण सचिव रिता केसीले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन अध्यक्ष टेकराज भण्डारीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ पुष ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस