दाङ,२६ साउन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ र ९ को बस्तीमा बाघ आउन थालेपछि स्थानीय त्रसीत बनेका छन् ।
बेलुकातिर र रातिमा सुनवर्षा र नयाँबस्तीमा बाघ आउने गरेको स्थानियले बताएका छन् । विशेष गरी बेलुका र रातिमा वरपरका वस्तीमा बाघ कराउने गरेको स्थानीयहरुको भनाई छ ।
कृष्ण मन्दीरदेखि माथितिरको वस्तीहरुमा रातिमा बाघ आउँदा स्थानीय त्रसीत बनेको स्थानीय पोषणराज शर्माले बताउनुभयो । .
गत असार २४ गते तुलसीपुर–९ को नवदुर्गा सामुदायीक बनमा च्याउ टिप्न गएका तीन जना महिलालाई बाघले चिथोरेको थियो । त्यसपछि गाँउमा रहेको सुंगुर फर्ममा भएको १२ वाट सुंगुर मारेको थियो ।
त्यसबेलादेखि नै वस्तीमै बाघ आउने, रातिमा कराउने गरेको स्थानीयको भनाई छ । बिहानमा क्याम्पस पढ्न जाने विद्यार्थी, दुध बेच्न जाने कृषक, योगा गर्न जाने नागरिकहरु त्रासमा बनेका छन् ।
त्यतिमात्रै नभएर मानवीयसंगै घरमा रहेको गाइभैसी, भेडा बाख्राहरु मार्छ की भन्ने त्रासमा रहेको स्थानीय सुमन गौतमले बताउनुभयो ।
वस्तीमै बाघ देखिन थालेपछि स्थानीयहरु सुरक्षाको लागि वडा सरकारलाई जानकारी गराएको वडाले जनाएको छ । ९ नम्बर वडाको नयाँवस्ती र सुनवर्षामा साँझतिर दुईवटा बच्चासहित बाघ गाँउमै हिडेको देखेपछि स्थानीयले वडामा खबर गरेका थिए ।
वडाले पनि सामुदायीक वन समुहलाई जानकारी गराइ सकेको वडा अध्यक्ष घनश्याम ढकालले बताउनुभयो । धेरैजसो अंगेरीखोला, नयाँबस्ती, सुनवर्षा, कटकुईया आसपासका बस्तीमा बाघ देखिने गरेकोले बाघको बासस्थान बस्तीको आसपासमा हुन सक्ने अनुमान गर्न सकिने उहाँले बताउनुभयो । अहिलेसम्म गाँउमा मानविय क्षति नगरेपनि सचेत भएर वस्न वडावासीलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।


