दाङ, २३ साउन । काठमाण्डूबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको एअर डाइनेस्टीको एउटा हेलिकप्टर नुवाकोटको सूर्यचौर जङ्गलमा दुर्घटनाग्रस्त भएकोे छ ।
उक्त हेलिकप्टरमा चालकबाहेक चार चिनियाँ नागरिक सवार रहेको विवरण सार्वजनिक भएको छ । घटनास्थलमा पुगेका दुर्घटनास्थल शिवपुरी गाउँपालिका ७ का वडाध्यक्ष वीरबहादुर तामाङले चारवटा शव निकालिसकिएको र अर्को निकाल्न लागिएको बताउनुभयो ।
नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार घटनास्थलमा एक महिला र चार पुरुषको शव फेला परेको थिए । दुर्घटनाको कारण खुलिसकेको छैन। तर खराब मौसमका कारण दुर्घटना भएको हुन सक्ने अनुमान अधिकारीहरूको छ ।
दिउँसो १ः५४ मिनेटमा काठमाण्डूबाट उडेको तीन मिनेटमै उक्त हेलिकप्टरले सम्पर्क गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताउनुभयो ।
उहाँका अनुसार दुर्घटनास्थलमा तीनवटा हेलिकप्टर पठाइएको छ ।
नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईँले नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका ७ मा पर्ने सूर्यचौर जङ्गलमा हेलिकप्टरजस्तो वस्तु जलेर धुवाँ आइरहेको जानकारी आएपछि सुरक्षाकर्मीहरू त्यता गएको बताउनुभयो ।


