कपुरकोट, २३ जेठ । सल्यानको कपुरकोटमा विश्व वातावरण दिवसमा विभिन्न कार्यक्रम गरिएको छ । कपुरकोट गाउपालिका, वनस्पति अनुसन्धान केन्द्र , स्वच्छ नेपाल सल्यान तथा दलित विकास समाज सल्यानको संयुक्त आयोजना एवं कपुरकोट रहेका सबै सरकारी तथा गैरसरकारी संघसंस्थाहरूको सभागितामा कार्यक्रम गरिएको हो ।

दिवसको अवसरमा ‘ग्रिन बेल्ट जोन’ को उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन, उपाध्यक्ष प्रकाश भण्डारी, प्रसाशकिय अधिकृत भरत कुमार वली, वनस्पति अनुसन्धान केन्द्रका डा. मित्रलाल पाठक लगायतले कपुरको बिरुवा र मलागिरीको बिरुवा रोपेर ग्रिन बेल्ट जोनको उद्घाटन गरिएको हो ।

त्यस अवसरमा गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले वातावरणको संरक्षण गर्न सकेमात्रै मानव जीवन सुरक्षित हुने बताउनुभयो । उहाँले कपुरकोट गाउँपालिका प्राकृतिक दुष्टिकोणले सुन्दर र स्वच्छ भएपनि सरसफाई र बन वातावरणको संरक्षण जरुरी रहेको बताउनुभयो ।

यस्तै उपाध्यक्ष प्रकाश भण्डारीले मानविय क्रियाकलापकै कारण वातावरण संरक्षणमा चुनौति बढ्दै गएकाले मानव जीवन रक्षाका लागि वातावरण संरक्षणमा सबैले चासो दिनुपर्ने बताउनुभयो । त्यस अवसरमा कपुरकोट बजार सरसफाइ समेत गरिएको छ ।

विश्व वातावरण दिवस हरेक वर्ष जुन ५ मा मनाउने गरिन्छ । यसवर्ष ‘हाम्रो भुमि हाम्रो भविष्य’ भन्ने मूल नाराका साथ नेपालसहित विश्वका मुलुकले मनाउँदै छन् ।





