२०८३ असोज २६ गते सोमवार

बालेनले भौतिक पूर्वाधारमन्त्रीलाई पठाए एक ट्रक धुलो ‘उपहार’

काठ्माण्डौ, १२ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई उपहार भन्दै धुलो पठाउनुभएको छ ।

ठाडो आदेशमा भइरहेको काम रोकेको भन्दै मेयर शाहले सडक विभाग र सडक डिभिजन काठमाडौं अगाडि एक ट्रक धुलो खन्याउनुभएको हो ।

सामाजिक सञ्जालमा धुलो खन्याएको भिडियोसहितको पोस्टमा शाहले लेख्नुभएको छ– ‘माननीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठज्यू ! तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ जर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नुपरेको छ।’

मन्त्रालयको कारण महानगरले गाली र नगरवासीले धुवाँधुलो खानुपरेको भन्दै मेयर शाहले रोकेको काम अघि नबढाएसम्म हरेक दिन पायक पर्ने स्थानमा एक ट्रक धुलो ‘उपहार’ पठाउने उल्लेख गर्नुभएको छ ।

‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन । जबसम्म तपाईं काम अगाडि बढाउनुहुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउनेछु । माया सम्झेर स्विकार्नुहोला ।’

https://www.facebook.com/watch/?v=1009021877544072

प्रकाशित मिति : २०८१ जेष्ठ १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस