सल्यान, १९ जेठ । सल्यानको कपुरकोट बजारमा ‘एक घर, एक खानेपानीको धारा’ जडान गरिने भएको छ। बृहत् कपुरकोट खानेपानी आयोजना–३ र ४ अन्तर्गत स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले उक्त परियोजना अघि बढाइएको हो।
परियोजनाअन्तर्गत आज कपुरकोट बजारका प्रत्येक घरमा पुगेर खानेपानीको धारा जडानका लागि सर्वेक्षण गरिएको छ। बजार क्षेत्रका सबै घरधुरीमा खानेपानीको पहुँच पुर्याउने लक्ष्यसहित घरघरमै पुगेर आवश्यक विवरण संकलन गरिएको हो।
परियोजनाका कपुरकोट संयोजक रेशम डिसीले सर्वेक्षणमार्फत प्रत्येक घरको अवस्था र खानेपानीको आवश्यकताबारे जानकारी संकलन गरिएको बताउनुभयो।
परियोजना सम्पन्न भएपछि कपुरकोट बजारका प्रत्येक घरमा आफ्नै खानेपानीको धारा पुग्ने अपेक्षा गरिएको छ। यसबाट स्थानीय बासिन्दालाई स्वच्छ खानेपानीको सहज उपलब्धता हुनुका साथै खानेपानीका लागि हुने सास्तीसमेत कम हुने विश्वास गरिएको छ।


