२०८३ भाद्र ३ गते बुधवार

प्रविधिको गलत प्रयोगले निम्त्याउँदैछ बालविवाह


दाङ, २४ वैशाख । बालविवाह न्यूनीकरणका लागि सरकारी तथा गैरसरकारी निकायबाट प्रयास भएपनि लुम्बिनी प्रदेशमा भने प्रविधिको गलत प्रयोगले नयाँ चुनौती खडा गरिदिएको छ ।

दाङको चखौरामा आयोजित प्रदेशस्तरीय कार्यक्रममा सहभागी सुरक्षा अधिकारीहरूले सामाजिक सञ्जालको ’मिसयुज’ अर्थात गलत प्रयोगले नै बालविवाहको मुख्य प्रवेशद्वार बन्न थालेको निष्कर्ष निकालेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक शिव कुमार पौडेलले अहिले धेरैजसो बालविवाहको आधार ’टिकटक’ र अन्य म्यासेजिङ एपहरू बन्ने गरेको खुलाउनुभयो । ‘पहिले लुकिछिपी हुने विवाह अहिले सामाजिक सञ्जालबाट सुरु भएर घर छोड्ने अवस्थासम्म पुग्ने गरेको छ ।’ उहाँले भन्नुभयो ।

यस्तै, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक शारदा प्रसाद चौधरीले प्रदेशको भयावह चित्र प्रस्तुत गर्नुभयो । उहाँका अनुसार लुम्बिनी प्रदेशमा अझै पनि ४५ प्रतिशत बालविवाह हुने गरेको छ । जसमा १० प्रतिशत त १५ वर्षमुनिका बालबालिका रहेका छन् ।

रुपन्देहीकी प्रहरी निरीक्षक कल्पना घर्तीले प्रहरीमा आउने ‘बालबालिका हराएको’ उजुरीहरूको गहिरो अध्ययन गर्दा धेरैजसो घटनामा उनीहरूले भागि–विवाह गरिसकेको भेटिने गरेको बताउनुभयो । यो प्रवृत्तिले कानुनी जटिलतासँगै सामाजिक संरचनामा समेत असर पुर्‍याएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले प्रविधिको दुरुपयोगसँगै गरिबी र चेतनाको अभावले बालविवाह रोक्न मुस्किल परिरहेको बताउनुभयो । उहाँले यस्ता मुद्दामा तीन महिनाभित्रै कानुनी प्रक्रियामा जानुपर्ने प्रावधान रहेको समेत जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि एवं लुम्बिनी प्रदेशस्तरीय संसदीय मञ्चका संयोजक धनलक्ष्मी श्रेष्ठले अभिभावकको निगरानी कमजोर हुँदा बालबालिकाले गलत निर्णय लिने गरेको बताउनुभयो ।

जस्ट राइट्स फर चिल्ड्रेनको सहयोग र ब्याकवार्ड सोसाइटी एजुकेशन (बेस) को आयोजनामा भएको उक्त कार्यक्रममा दाङका डिएसपी रेशम बोहरा, बर्दियाका लोकराज अवस्थी, बार इकाइ तुलसीपुरका अध्यक्ष मधुसुदन गौतम लगायतले बालविवाहका असरबारे विद्यालयकै पाठ्यक्रममा समावेश गर्नुपर्ने सुझाव दिनुभयो ।

बेसका संस्थापक महासचिव लोकजन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बेसका निर्देशक पिंकी डाँगीले बालविवाहको अवस्था र न्यूनिकरणका प्रयासबारे प्रस्तुत गर्नुभएको हो । कार्यक्रमको सहजीकरण पत्रकारद्वय गोपाल शर्मा भट्टराई र शुशील बस्नेतले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८३ बैशाख २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस