दाङ, १७ भदौ । सरकारले आउँदो भदौ ३० गतेदेखि चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । सरकराले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत देशभर सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णय अनुसार खाद्य व्यवस्था कम्पनीले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै देशभर एक सय ११ वटा ठाउँमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । यस्तै साल्ट ट्रेडिङ कर्मोरेसनले काठमाण्डौ उपत्यकासहित देशका ३८ वटा ठाउँमा सुपथ मूल्य सपल सञ्चालन गर्नेछ ।
सहुलियत मूल्य पसलबाट विभिन्न खाद्यवस्तुमा किलोको दुई रुपैयाँदेखि १० रुपैयाँसम्म छुट दिइने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । सुपथ मूल्य पसलमार्फत खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सबै प्रकारको चामल, गहुँ दाना, चिनी, दाल र गेडागुडीमा प्रतिकिलो पाँच रुपैयाँ, चिउरा, पिठो, मैदा र आँटामा प्रतिकिलो सात रुपैयाँ, जिरा, धनिया, चियापत्ती, जिउँदो खसी, बोका र च्याङग्राका प्रतिकिलो १० रुपैयाँ छुट मूल्यमा बिक्री गर्नेछ ।
यस्तै खानेतेलतर्फ तोरीको तेल, सनफ्लावर तेल र भटमासको तेलमा प्रतिलिटर सात रुपैयाँ तथा कर्णालीको सिमी तथा फापर दाना, चिनो, कागुनो, उवा र जुम्ली मार्सी र बासमती चामलमा प्रतिकिलो १० रुपैयाँ छुट दिने सरकारले व्यवस्था गरेको छ ।
यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनले नुन र चिनीमा प्रतिकिलो दुई, तेल चिउरा, पिठो, मैदा र दालमा प्रतिकिलो सात रुपैयाँ छुट दिने व्यवस्था गरेको छ ।





