२०८२ असार २५ गते बुधवार

समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा चट्याङ पीडित किसानलाई आर्थिक सहयोग


दाङ, ५ असार । चट्याङबाट ठुलो क्षति बेहोरेका तुलसीपुर उपमहानगरपालिका–७ घुसरीका किसान सागर पौडेल समाजसेवीहरूको पहलमा नगद आर्थिक सहयोग प्रदान गरिएको छ ।

तुलसीपुर–७ जितपुर निवासी समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा तथा ‘म सफा गर्छु, मेरो देश’ अभियानसँग आबद्ध अभियन्ताहरू रबिन ज्ञवाली, मेघराज केसी र भूपबहादुर भण्डारीको सक्रियतामा पीडित परिवारलाई नगद ९ हजार १ सय रुपैयाँ सहयोग गरिएको हो ।

चट्याङका कारण पीडित सागर पौडेलको गोठ पूर्णरूपमा क्षतिग्रस्त भएको थियो । सहयोग टोलीले पीडितको घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेको हो । पीडित परिवारको अवस्था अत्यन्तै दयनीय रहेको जानकारी पाएपछि तत्काल राहतस्वरूप नगद सहयोग प्रदान गरिएको समाजसेवी उपेन्द्र पौडेलले जानकारी दिनुभयो ।

सहयोग हस्तान्तरणका क्रममा अभियन्ता रबिन ज्ञवालीले विपद् र संकटको बेला सबैले मानवीय भावना देखाएर सहयोग गर्नु आवश्यक रहेको बताउनुभयो ।

यस्तै अभियन्ता मेघराज केसीले स्थानीयस्तरमा यस्तो प्रकारको ऐक्यबद्धता समाजमा सकारात्मक सन्देश फैलाउने बताउनुभयो ।

यसैगरी, अभियानकर्मी भूपबहादुर भण्डारीले विपद्मा परेका व्यक्तिहरुलाई राहत पुर्‍याउन सरकारसँगै नागरिक तहबाट पनि सक्रियता देखिनुपर्नेमा जोड दिनुभयो ।

‘म सफा गर्छु, मेरो देश’ अभियानका सदस्यहरू पछिल्लो समय सामाजिक काममा समेत सक्रियरूपमा लागिरहेका छन् । अभियान अन्तर्गत वातावरण सफाइका साथै विभिन्न मानवीय सहयोगका कार्यक्रमहरू सञ्चालन गरिँदै आएका छन् ।

पीडित किसान सागर पौडेल र उहाँको परिवारले प्राप्त सहयोगप्रति आभार व्यक्त गरेका छन् । चट्याङ लागेपछि असहाय बनेको अवस्थामा यस्तो सहयोगले केही राहत मिलेको बताउँदै उहाँले आगामी दिनमा थप सहयोगको अपेक्षा पनि व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : २०८२ असार ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस