
दाङ, २६ जेठ । तुलसीपुर नगर जेसीजले सोमबार एक कार्यक्रममार्फत विद्यार्थीहरूमा नेतृत्व, सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रतिको अभिरुचि बढाउने प्रयास गरेको छ ।
तुलसीपुर क्षेत्रका आठ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको ‘विद्यार्थीसँग जेसीज संवाद’ कार्यक्रममा सामाजिक विषयमा अन्तरक्रिया गर्दै विद्यार्थीहरूलाई जिम्मेवार नागरिकका रूपमा अघि बढ्न प्रेरित गरिएको हो ।
कार्यक्रममा तुलसीपुर नगर जेसीज वर्ष २०२५ का अध्यक्ष सन्दीप भूसालले संस्थाको स्थापना, उद्देश्य र गतिविधिबारे जानकारी गराउँदै समाजसेवामा युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो ।
उहाँले विपद्का बेला विद्यालय, अस्पताल र खानेपानी जस्ता क्षेत्रमा संस्था सक्रिय रहेको र नेतृत्व विकास तथा उद्यमशीलताका कार्यक्रमहरू पनि निरन्तर सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
पूर्व अध्यक्षहरू पूर्ण विक्रम डाँगी र मोहन स्वीकारले युवाहरूलाई समाजप्रति उत्तरदायी रहन र मानवीय सेवामा समर्पित हुन सुझाव दिनुभयो ।
कार्यक्रममा हिमाल एकेडेमी, ज्ञानज्योती आधारभूत विद्यालय, ज्ञानज्योती सेकेन्डरी स्कुल, डिभाइन टेम्पल, दिव्यकुञ्ज, मेरिगोल्ड स्कुल, ग्रेट अरनिको स्कुल र शान्तिदीप बोर्डिङ स्कुलका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
ज्ञानज्योती आधारभूत विद्यालयकी शिक्षक सीता भण्डारीले विद्यार्थीमार्फत सामाजिक परिवर्तनको सन्देश फैलाउन सकिने भन्दै यस्ता कार्यक्रमहरू प्रभावकारी हुने बताउनुभयो ।
कार्यक्रमको सहजीकरण महासचिव बुद्धिराज सापकोटाले गर्नुभयो भने संयोजन सागर न्यौपानेले गर्नुभएको हो ।