दाङ, ५ साउन । तुलसीपुर उपमहानगरपालिका–९, बेलुवास्थित सगरमाथा स्कुलले आज तुलसीपुर–९ स्थित मेट्रो होटलमा लागूऔषध दुर्व्यसन रोकथाम विषयक अभिमुखीकरण कार्यक्रमकार्यक्रम आज सम्पन्न गरेको छ।
विद्यालयका प्रधानाध्यापक छवि कुमार ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नार्कोनन नेपालका लुम्बिनी प्रदेश संयोजक बसन्त पुन प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा विद्यार्थीहरूलाई लागूऔषध दुर्व्यसनका कारण, असर, रोकथामका उपाय तथा युवाको भूमिकाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।
प्रमुख अतिथि बसन्त पुनले लागूऔषध दुर्व्यसन नेपालका लागि गम्भीर सामाजिक चुनौती बन्दै गएको बताउँदै यसको नियन्त्रणका लागि परिवार, विद्यालय, समुदाय र राज्य सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्नुभयो।
उहाँले प्रस्तुत गर्नुभएको २०७६ सालको तथ्याङ्क अनुसार नेपालमा अवैध लागूऔषध सेवनकर्ताको संख्या १ लाख ३० हजार ४३४ रहेको छ। जसमध्ये १ लाख २१ हजार ६९२ पुरुष र ८ हजार ७३२ महिला रहेका छन्।
साथै अवैध लागूऔषध सेवनकर्ताको वार्षिक वृद्धिदर ५.६ प्रतिशत रहेको जानकारी दिँदै उहाँले समयमै सचेतना नफैलाए समस्या अझ जटिल बन्दै जाने बताउनुभयो।
उहाँले लागूऔषधको एकपटकको प्रयोगले पनि व्यक्तिको जीवन, परिवार, शिक्षा, स्वास्थ्य र भविष्यमा गम्भीर असर पार्न सक्ने उल्लेख गर्दै “लागूऔषधले क्षणिक आनन्द दिएजस्तो देखिए पनि यसले जीवनभरको पीडा दिन्छ” भन्नुभयो।
विद्यार्थीहरूलाई खराब संगत, अनावश्यक दबाब, जिज्ञासा वा देखासिकीका कारण कहिल्यै पनि यस्तो कुलतमा नफस्न आग्रह गर्दै आत्मविश्वास, सकारात्मक सोच, अनुशासित जीवनशैली र असल मित्रको संगतले मात्र उज्ज्वल भविष्य निर्माण गर्न सकिने धारणा व्यक्त गर्नुभयो।
कुनै साथी लागूऔषधको कुलतमा फसेको थाहा पाए लुकाउने होइन, समयमै परिवार, शिक्षक वा सम्बन्धित निकायलाई जानकारी गराई सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रमका अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक छवि कुमार ओलीले कार्यक्रममा सिकेका ज्ञान र सन्देशलाई विद्यालयमा मात्र सीमित नराखी आफ्नो घर, टोल र समाजसम्म पुर्याउन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो।
उहाँले “आजको सचेत विद्यार्थी नै भोलिको जिम्मेवार नागरिक हो” भन्दै लागूऔषधमुक्त समाज निर्माणमा विद्यार्थीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो।
प्रधानाध्यापक ओलीले सधैं असल साथीको संगत गर्न, अनुशासन, सकारात्मक सोच र नैतिक आचरणलाई जीवनको आधार बनाउन तथा कुनै पनि कुलतबाट टाढा रहन विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो।
उहाँले हरेक विद्यार्थीले आफ्नो परिवार र समाजमा लागूऔषधविरुद्ध जनचेतना फैलाउने अभियानकर्ता बन्नुपर्नेमा जोड दिँदै सचेत, सभ्य र जिम्मेवार पुस्ताले मात्रै समृद्ध समाज निर्माण गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

