
दाङ, २३ जेठ । तुलसीपुर–१५ मलवारमा अवस्थित मुना इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा तथा त्रिशिद्धेश्वरी साधना केन्द्रको समन्वयमा सात दिवसीय निःशुल्क योग विज्ञान शिविर सम्पन्न भएको छ ।
शिविरमा प्रशिक्षक दुर्गा प्रसाद भण्डारीले योगले शरीर र मनलाई सन्तुलनमा राख्ने भएकाले विद्यार्थीहरूले योग सिक्नाले थप प्रभावकारी हुने धारणा राख्नुभयो। उहाँले अहिले मानिसहरूमा विविध रोग देखिन थालेकाले योगले मानिसलाई स्वस्थ, तन्दुरुस्त र फुर्तिलो बनाउने उल्लेख गर्नुभयो।
प्रशिक्षक यमराज सेजुवालले शिविरमा सहभागी संख्या उल्लेख्य रहेको भन्दै खुसी व्यक्त गर्नुभयो।
तुल्सीपुर–१४ भोजपुरका शिव रेग्मीले योग सिक्न थालेपछि सुरुका दिनहरूमा केही असजिलो महसुस भए पनि अहिले शरीर हल्का र फुर्तिलो हुँदै गएको बताउनुभयो।
विद्यालयका सहायक प्रधानाध्यापक नारायण बस्नेतले अभिभावक र विद्यार्थीहरूको मागअनुसार शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले शिविरलाई निरन्तरता दिने प्रयास भइरहेको पनि बताउनुभयो।
प्रधानाध्यापक निर्मल आचार्यले योगले आनन्दपूर्ण जीवन बिताउने कला सिकाउने र यो शरीर र मनको संयोजन भएकाले सबैका लागि आवश्यक रहेको उल्लेख गर्नुभयो।
विद्यालयका कार्यक्रम संयोजक जीवन केसीका अनुसार शिविरमा करिब १५० जनाको सहभागिता रहेको थियो।