
दाङ, १५ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नगरप्रमुख टिकाराम खड्का र वडाध्यक्षबिचको विवाद बढ्दै गएको छ । नगरप्रमुख खड्काले एकलौटी ढंगले जान थालेपछि माओवादी र कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष र नगरप्रमुखबिचको विवाद उत्कर्षमा पुगेको हो ।
कांगे्रस र माओवादीबाट निर्वाचित वडाअध्यक्षले बिहिबार पत्रकार सम्मेलन गरी नगरप्रमुख अभिभावकको भूमिका बाहिर गएको गुनासो गरेका छन् । पत्रकार सम्मेलनमा लेखा समितिका संयोजक तथा वडा नम्बर ९ का अध्यक्ष घनश्याम ढकालले नगरप्रमुख मनोमानी ढंगले अघि बढेकाले ३२ औँ कार्यपालिका बैठक बहिष्कार गरेको बताउनुभयो । उहाँले मेयरले अभिभाकीय भूमिका निर्वाह नगर्दासम्म कुनै पनि निर्णय प्रक्रियामा सहभागी नहुने बताउनुभयो ।
उहाँले नगरप्रमुखले कांग्रेस र माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रतिपक्षको व्यवहार गरेको गुनासो गर्नुभयो । उहाँले संविधान अनुसार स्थानीय तहमा प्रतिपक्ष नहुने भएपनि नगरप्रमुखले ३१ औँ कार्यपालिका बैठकमा अल्पमत र बहुमतको प्रवृति लागू गरेको समेत बताउनुभयो ।
यस्तै नगरप्रमुखले मनोमानी ढंगले बजेट निर्माण गरेको, मनमौजिरुपमा बजेट कटौति गरेको, विद्यालयमा विषयगत शिक्षकको पहिचान नै नगरी शिक्षक सरुवा गरेको, नगरसभाबाट स्विकृत भएर रातो किताबमा आइसकेका योजना बिना जानकारी काटेको, नगरकार्यपालिकामा लगेका एजेण्डा निर्णय नगरी पाटीमा बुझाउने गरेको वडाअध्यक्षको गुनासो छ ।
यस्तै आफुखुशी रकमान्तर र शिर्षकान्तर गरेको, समन्वय, सरसल्लाह र अभिभावकिय भूमिका निर्वाह नगरेको उनिहरुको गुनासो छ । यसैगरी तुलसीपुर–४ का अध्यक्ष तुलसी थापाले तुलसीपुरलाई राम्रो बनाउनका लागि समानुपातिक ढंगले विकास गर्नुपर्ने आफुहरुको मागमा नगरप्रमुखले वेवास्ता गरेको बताउनुभयो ।
नगरप्रमुख खड्काले अभिभावकीय भूमिका निर्वाह गर्न नसकेका कारण बाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको बताउनुभयो । यस्तै वडा नम्बर ५ का अध्यक्ष बिरेन्द्र शाहले कांग्रेस र माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई उपद्रो र अनपढजस्ता आरोप लगाएको भन्दै गम्भिर आपत्ति प्रकट गर्नुभएको छ ।