२०८२ बैशाख ३० गते मङ्गलवार

कपुरकोटमा तरकारी खेती र विषादी न्यूनीकरणबारे तालिम

सल्यान, २५ बैशाख । साना किसान कृषि सहकारी संस्था लिमिटेड कपुरकोटले कृषकहरूको सीप अभिवृद्धि र सुरक्षित कृषि प्रवद्र्धन गर्ने उद्देश्यले ‘तरकारी खेती व्यवस्थापन तथा विषादी न्यूनीकरण’ तालिम प्रदान गरेको छ ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालयको आर्थिक सहयोगमा आयोजना गरिएको तालिम बुधबार र बिहिबार दुई दिनसम्म संचालन भएको हो ।

करिब ८० जना सहभागी रहेका उक्त तालिममा ५५ जना महिला र २५ जना पुरुष कृषकहरूको उत्साहजनक उपस्थिति देखिएको थियो । तालिमको उद्घाटन कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेल र वडा नम्बर ३ का अध्यक्ष प्रदीप खड्काले संयुक्त रूपमा गर्नुभएको थियो ।

तालिममा अदुवा बाली अनुसन्धान संयोजक डा. घनश्याम भण्डारी र कपुरकोट कृषि शाखा प्रमुख बिनोद थापाले कृषकहरूलाई तरकारी बाली लगाउँदा अपनाउनुपर्ने प्रविधि, बालिमा लाग्न सक्ने रोगहरू र ती रोगहरूको रोकथामका उपायहरूबारे जानकारी गराउनुभयो ।

यस्तै विषादी प्रयोग गर्दा स्वास्थ्य र वातावरणमा पर्न सक्ने असरबारे सचेत गराउँदै विषादी न्यूनीकरणका विकल्पहरू प्रस्तुत गरिएको छ । यसैगरी कपुरकोट हाट बजार व्यवस्थापन समितिका अध्यक्ष तिलक शर्माले कृषकहरूलाई उत्पादन भएको तरकारीको बजार व्यवस्थापन र विक्री प्रवद्र्धनका उपायहरूबारे मार्गदर्शन दिनुभयो ।

साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष डम्बरबहादुर यरीको अध्यक्षतामा तालिम संचालन भएको हो । उहाँले संस्थाले कृषकहरूको सशक्तिकरणका लागि यस्ता तालिमहरू नियमित रूपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २०८२ बैशाख २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस