२०८२ बैशाख ३० गते मङ्गलवार

करदाताको खोजिमा आन्तरिक राजश्व कार्यालय

दाङ, २४ बैशाख । आन्तरिक राजश्व कार्यालय तुलसीपुरको कार्यक्षेत्रअन्तर्गत रही आय कर तर्फ एक लाख र मूल्य अभिबृद्धि तर्फ १० लाख रुपैयाँभन्दा बढी कर बक्यौता रहेका ६२ करदाताका नाममा सार्वजनिक सूचना नै प्रकाशन गरिएको छ ।

१५ दिनभित्र कर रकम दाखिला गर्न भन्दै कार्यालयले वैशाख १५ गते नाम तथा विवरणसहित सूचना प्रकाशन गरेको छ भने कार्यालयको वेवसाइट तथा फेसबुक पेज मार्फत् सार्वजनिक समेत गरिएको छ ।

आन्तरिक राजस्व कार्यालय तुलसीपुरले वैशाख १५ गते निकालेको सूचनामा ती करदाताहरुलाई कर बक्यौता दाखिला गर्न विभिन्न मितिमा मैत्रीपूर्ण अनुरोध, पत्राचार, फोन सम्पर्क गरी जानकारी गराइएको, कतिपय करदातालाई फोन सम्पर्क गर्दा सम्पर्क हुन नसकेको, करदाताको ठेगानामा पत्राचार गर्दा हुलाकमार्फत् पत्र तामेल हुन नसकेको र हालसम्म पनि बक्यौता रकम दाखिला गरेको नदेखिएकोले सूचना प्रकाशित गरिएको उल्लेख छ ।

सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र कर बक्यौता रकम दाखिला नगरेमा आयकर ऐन, २०५८ को दफा १०४ देखि १११ सम्मको कुनै प्रक्रिया अपनाई तथा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ (१) बमोजिमको प्रक्रिया अपनाई असुलउपर गरिने जनाइएको छ ।

आन्तरिक राजस्व कार्यालय तुलसीपुरका प्रमुख कर अधिकृत श्रीधर टण्डनले राज्यले करको दायित्व नबिर्सने बताउँदै कानुनबमोजिम असुलउपर हुन सक्ने बताउनुभयो ।
‘तोकिएको समयसम्म नबुझाएमा बैंक खाता रोक्का राख्ने, सम्पत्ति, जग्गा रोक्का राख्नेलगायतका प्रक्रियाहरु कानुनमा छन् ।

आन्तरिक राजश्व कार्यालय तुलसीपुर मातहतमा लामो समयसम्म मूल्य अभिबृद्धि कर विवरण पेश नगर्ने एक हजार पाँच सय करदाता छन् । आन्तरिक राजश्व विभागबाट सार्वजनिक रुपमा सूचना प्रकाशन भएकोमा दाङ कार्यालयका मात्रै एक हजार पाँच सय परेका हुन् ।

ती करदाताहरुलाई समयमै विवरण दाखिला गर्न आवश्यक प्रचारप्रसार एवं समन्वय गरिदिन दाङ जिल्लामा क्रियाशील उद्योग वाणिज्य संघहरु तथा निर्माण व्यवसायी संघ दाङलाई कार्यालयबाट पत्राचार समेत गरिएको कार्यालयले जनाएको छ ।

आन्तरिक राजश्व कार्यालय दाङको फेसबुक पेजबाट समेत प्रचारप्रसार गरिएको छ । मूल्य अभिबृद्धि कर ऐन, २०५२ को दफा १७ को उपदफा (८) को प्रयोजनको लागि लामो समयसम्म मूल्य अभिबृद्धि कर विवरण पेश नगर्ने करदाताहरुको नाममा जारी गरिएको अत्यन्त जरुरी सूचनामा समावेश भएका करदाताले मूल्य अभिबृद्धि कर विवरण पेश नगरेमा विवरण पेश नगर्ने करदाताको नाम सार्वजनिक गरी त्यस्तो करदाताको कर कट्टी गर्नुपर्ने रकम बाँकी भए रोक्का राख्न र निजको दर्ता समेत निलम्बन गर्न सकिने व्यवस्था छ ।

लामो समयसम्म मूल्य अभिबृद्धि कर विवरण पेश नगर्नेमा घोराही उपमहानगरपालिकाका छ सय ३७, तुलसीपुर उपमहानगरपालिका चार सय २६ करदाता छन् ।

त्यसैगरी लमही नगरपालिका एक सय ९४, गढवा गाउँपालिका ६६, राप्ती गाउँपालिका ५४, बबई गाउँपालिका २२, शान्तिनगर गाउँपालिका २१, राजपुर गाउँपालिका १८, बंगलाचुली गाउँपालिका १६, दंगीशरण गाउँपालिका छ, रोल्पाको रुन्टीगढी गाउँपालिका २१, रोल्पाको त्रिवेणी गाउँपालिकाका १३ र रोल्पाकै गंगादेव गाउँपालिका सातले लामो समयसम्म मूल्य अभिबृद्धि कर विवरण पेश नगरेको देखिएको छ । आयकर ऐन, २०५८ को दफा ९६ ले प्रत्येक व्यक्तिले आय वर्ष समाप्त भएको तीन महिनाभित्र आन्तरिक राजश्व कार्यालयमा आय विवरण पेश गर्नुपर्ने ब्यवस्था गरेको छ । –नयाँ युगबोध राष्ट्रिय दैनिकमा सन्तोष खनालले खबर लेख्नुभएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस