२०८२ असार ३ गते बुधवार

तीन हजारभन्दा बढी उद्योग–व्यवसाय बन्द हुँदा १० हजार बढीको रोजगारी गुमेको अनुमान

दाङ, ९ बैशाख । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षका नौ महिनामै साढे तीन हजारभन्दा बढी उद्योग र व्यवसाय बन्द भएका छन् । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार, तीन हजार तीन सय २६ वटा उद्योग तथा व्यवसायको लगत कट्टा, अर्थात् बन्द गरिएको तथ्यांक सार्वजनिक भएको हो ।

जसमध्ये एक हजार छ सय ९५ उद्योग र एक हजार छ सय ३१ व्यवसाय बन्द भएका छन् । उद्योगतर्फ सबैभन्दा धेरै रुपन्देहीमा दुई सय ७८ उद्योग बन्द भएका छन् भने दाङमा दुई सय ७०, गुल्मीमा दुई सय ४ र पाल्पामा एक सय ७८ उद्योग बन्द भएको देखिएको छ ।

वाणिज्यतर्फ सबैभन्दा धेरै व्यवसाय बन्द हुने जिल्ला भने दाङ नै हो, जहाँ तीन सय ५८ व्यवसाय बन्द गरिएका छन् । त्यसैगरी, बाँकेमा तीन सय ४६, गुल्मीमा दुई सय ६०, पाल्पामा दुई सय ६, र रोल्पामा ७१ व्यवसाय बन्द गरिएका छन् । अत्यधिक उद्योग र व्यवसाय बन्द हुँदा रोजगारीमा समेत असर परेको मन्त्रालयको भनाइ छ ।

उद्योग बन्द गर्न आउने व्यवसायीहरूले व्यवसाय नचलेकै कारण बन्द गर्नुपरेको, विदेश रोजगारीको लागि जानुपरेको, वा अन्य वैकल्पिक उपाय अपनाउनु परेको कारण देखाउने गरेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

तथ्यांक अनुसार, चालु आर्थिक वर्षको नौ महिनामा तीन हजार दुई सय ५० नयाँ उद्यमी थपिएका थिए, जसले १० हजार पाँच सय १९ जनालाई रोजगारी दिएका थिए ।

त्यही आधारमा हेर्दा तीन हजार तीन सय २६ उद्योग–व्यवसाय बन्द हुँदा १० हजारभन्दा बढी रोजगार गुमेको अनुमान गरिएको छ । सञ्चालन नहुने उद्योगको विवरण कट्टा गर्न प्रदेश सरकारले नवीकरण शुल्क तथा जरिवाना रकममा पाँच प्रतिशत मात्रै तिरेपछि बाँकी माफ हुने व्यवस्था गरेको छ ।

नयाँ उद्योग दर्तामा भने खासै उत्साह देखिएको छैन । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सूचना अधिकारी सन्तोषकुमार सुवेदीले नयाँ दर्तामा उत्साह नदेखिएको जानकारी दिदै नवीकरणमा भने उत्साह देखिएको बताउनुभयो । नयाँ युगबोध राष्ट्रिय दैनिकमा सन्तोष खनालले खबर लेख्नुभएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस