२०८२ बैशाख ३० गते मङ्गलवार

किन भागे नगरप्रहरी ?


दाङ, २१ चैत । बुधबार साँझ ७ बजेतिर ग्वारखोलामा अवैधरुपमा नदिजन्य पदार्थ उत्खनन् भइरहेको थियो ।

खोलाबाट अवैधरुपमा नदिजन्य पदार्थ उत्खनन् गरिरहेको सूचना आएपछि तुलसीपुर उपमहानगरपालिकाका दुई जना नगर प्रहरी उत्खनन्‌स्थल ग्वारखोलामा पुगे ।

पुलको दक्षिणतर्फ अवैधरुपमा उत्खनन हुँदै थियो । ट्याक्टरमा गिट्टीबालुवा लोड भइरहेको अवस्थामा दुई जना नगर प्रहरीले ट्याक्टरलाई नियन्त्रणमा ल्याउने आँट गरेनन् ।

त्यसपछि फेरि थप दुई जना नगरप्रहरी पठाउन आग्रह गरे । दुई जना नगर प्रहरी एउटै मोटरसाइकलमा गए । उनिहरुले लगेको मोटरसाइकल थियो तुलसीपुर उपमहानगरपालिकाको मोटरसाइकल दमकल ।

चार जनाले नियन्त्रणमा ल्याएको ट्याक्टर ल्याउँदै गरेको अवस्थामा नगरप्रहरीलाई टरिगाउँ एयरपोर्ट नजिकै आक्रमणको प्रयास भयो । त्यसपछि उनीहरु दुवै जना नगरप्रहरी मोटरसाइकल दमकल छोडेर भागेका थिए ।

स्रोतका अनुसार अवैधरुपमा नदिजन्य पदार्थ उत्खनन् नियन्त्रण ल्याउने कोशिस गरिएपछि उनीहरु नगरप्रहरीमाथि आक्रमणको प्रयास गरेका हुन् ।

‘नगरप्रहरीलाई पछ्याउँदै आक्रमण गर्ने प्रयास गरिएको थियो, त्यसपछिमात्रै उनिहरु मोटसाइकल छोडेर भाग्नुपरेको हो ।’ स्रोतले भन्यो ।

स्रोतका अनुसार उत्सखनन्‌मा संलग्न तरवार लिएर आएका थिए । एकछिन भागदौड समेत भएको बुझिएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले अवैध उत्खनन्‌मा संलग्न ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँको भनाई छ । यस विषयमा तुलसीपुर उपमहानगरपालिकाले आधिकारिक धारण सार्वजनिक गर्ने तयारी गरेको छ ।

किन लगे नगरप्रहरीले मोटरसाइकल दमकल ?
मोटरसाइकल दमकल कम प्रयोग हुँदा बिग्रने समस्या हुने भएकाले अहिले नगरप्रहरीलाई चलाउन दिएको विपद् व्यवस्थापन शाखा प्रमुख टोप बहादुर डाँगीले बताउनुभयो ।

‘नगरको दमकल जो अहिले मोटरसाइकलको रुपमा प्रयोग भइरहेको छ ।’ उहाँले भन्नुभयो–‘आवश्यक परेमा मात्रै दमकलको रुपमा प्रयोग गर्ने र अन्य समयमा मोटरसाइकलको रुपमा प्रयोग गर्ने गरी नगरप्रहरीलाई दिएका छौँ ।’

प्रकाशित मिति : २०८१ चैत्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस