२०८२ बैशाख ३० गते मङ्गलवार

खम्बामा बाँधेर महिलामाथि निर्घात कुटपिट, तीन जना पक्राउ


दाङ, १५ चैत । दाङमा एक महिलालाई विद्युतको पोलमा बाँधेर निर्घात कुटपिट गरिएको छ । घोराही उपमहानगरपालिका–१० की २६ वर्षीया शिला चौधरीमाथि निर्घात कुटपिट भएको हो ।

शिलालाई बिजुलीको खम्बामा बाँधेर निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

शिलामाथि घोराही–११ चागुका गोपाल चौधरीकी श्रीमती र स्थानीय केही अन्य महिलाले बाँधेर निर्घात कुटपिट गरेका हुन् । शिलाका श्रीमान जेलमा छन् ।

उहाँले सोही वडाको तरकारी फार्ममा काम गर्दै आउनुभएको छ । तरकारी फार्मका केही सामान हराएको आरोपमा शिलामाथि अमानवीय तरिकाले कुटपिट भएको महिला अधिकारकर्मी खुमा खड्काले बताउनुभयो ।

‘यो घटना गाउँमै मिलाइएको रहेछ,’ अधिकारकर्मी खड्काले भन्नुभयो–‘पीडितकी आमाले सामाजिक सञ्जालमा भिडिओ देखेपछि बिहीबार मुद्दा प्रहरीमा पुगेको हो ।’

स्रोतका अनुसार राजनीतिक दलका स्थानीय नेताहरूले ७० हजार रूपैयाँ दिएर मुद्दा गाउँमै मिलाएका थिए । त्यसमध्ये पनि उनीहरूले गाडी भाडा लागेको भन्दै नौ हजार रूपैयाँ लगेका थिए । पीडितले ६१ हजार रूपैयाँ मात्रै पाउनुभएको हो ।

इलाका प्रहरी कार्यालय नारायणपुरमा यो विवाद आउनुअघि स्थानीय ‘भद्रभलादमी’ को रोहवरमा पैसा दिएर मिलाउन खोजिएको स्रोतले बताएको छ ।

भिडिओ सामाजिक सञ्जालमा फैलिएपछि पीडितकी आमाले छोरीमाथि भएको अत्याचारबारे आवाज उठाउनुभएको हो । उहाँकै पहलमा घटना मिलाउन दिइएको ६१ हजार रूपैयाँ फिर्ता गरिएको हो ।

बिहीबार मात्रै पीडित जिल्ला प्रहरी कार्यालय घोराहीमा पुगेर आरोपितहरू विरूद्ध अमान्य व्यवहार शीर्षकमा मुद्दा दायर गरेको निमित्त प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहले बताउनुभयो ।

‘हामीलाई त पहिला गाउँघरको सामान्य कुटाकुट घटना मात्रै हो भनिएको थियो’ उहाँले भन्नुभयो–‘पीडित आएर उजुरी दिएपछि कुटपिट घटनामा संलग्न तीन जनालाई बिहीबार हामीले नियन्त्रणमा लिइसकेका छौं ।’ पीडितले पैसा फिर्ता गरी प्रहरीमा न्यायका लागि जाहेरी दिएको स्रोतले बताएको छ ।

पीडितले निवेदन दिएपछि आफूले त्यसैको आधारमा आरोपितलाई पक्राउ गरेको हुँदा मुद्दा आधिकारिक रूपमा दर्ता भइसकेको डिएसपी शाहले बताउनुभयो । उहाँका अनुसार घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको छ ।

‘स्थानीय केही भद्रभलादमीका नाममा यति गम्भीर सवाल पैसा दिएर कागज गराई मिलापत्र गराइएको देखियो,’ अधिकारकर्मी खड्काले भन्नुभयो– ‘एक अबला नारीलाई रातिको समयमा बोलाएर, पोलमा बाँधेर त्यसरी पशुवत व्यवहार गर्न पाइँदैन, दोषीले सजाय पाउनुपर्छ भन्ने हाम्रो माग हो ।’

शिलामाथि कुटपिट भएको भिडिओ कुट्नेहरू आफैले सामाजिक सञ्जालमा राखेका थिए । त्यसको तीव्र विरोध र आलोचना हुन थालेपछि उहाँलाई स्थानीय मेडिकलमा लगेर उनीहरू आफैले उपचार गरेको भन्ने खुलेको छ । अनुसार शिलाले घाँटी, टाउको र शरीरको भित्री भागमा दुखाइ भइरहेको बताउनुभएको छ ।- जागरण अनलाइनबाट साभार

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस