
रोल्पा, ८ चैत । रोल्पाको निगालपानी–जिनावाङ कृषि सडक कालोपत्रे हुने भएको छ । राप्ती राजमार्गको वैकल्पीक सडकको रुपमा रहेको रोल्पाको त्रिवेणी गाउँपालिका–४ निगालपानीबाट कोइलाझ्याम–पातीहाल्ना, महानेटा, दलसिंगे हुँदै झुलनेटा जोड्ने सडकको कालोपत्रे हुने भएको हो ।
सडक निर्माणका लागि ठेक्का सम्झौता समेत भइसकेको छ । सडक ४२ करोड ८१ लाख ४१ हजार ३१९ रुपैँया लागतमा कालोपत्रे हुन लागेको सडक पूर्वाधार कार्यालय रोल्पाका इन्जिनियर लोकप्रसाद बिष्टले जानकारी दिनुभयो । लुम्बिनी प्रदेश सरकार र संघिय सरकारको समपूरक बजेटबाट सडकको कालोपत्रे हुन लागेको हो ।
उहाँका अनुसार सडक कालोपत्रेको जिम्मा त्रिवेणी ब्रह्मयानी कन्ट्रक्सन प्रालि काठ्माण्डौले लिएको छ । आगामी २०८४ साल असोज ४ गते निर्माण सक्ने गरी गत मंगलबार (चैत ५) गते सम्झौता भएको हो ।
सडक आसफाल्ट प्रविधिमा आधारित कालोपत्रे हुने इन्जिनियर विष्टले बताउनुभयो । यसैबिच शुक्रबार सडक निर्माणको सार्वजनिकरण कार्यक्रम गरिएको छ । रोल्पाको निगालपानीमा भएको सार्वजनिकीकरण कार्यक्रममा लुम्बिनी प्रदेश सांसद तथा निवर्तमान मूख्यमन्त्री डिल्लीबहादुर चौधरीले सडकको स्तरोन्नतीसंगै कृषिजन्यवस्तु बजारीकरणमा सहजता आउने बताउनुभयो ।

उहाँले सडकको निर्माणका लागि बजेट समयमै व्यवस्थापन गरिने र निर्धारित समयमै निर्माण कार्य सक्न निर्माण निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो । सडक पूर्वाधार कार्यालय रोल्पाका प्रमुख लोकप्रसाद बिष्टले समयमै बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
सडकका लागि अहिलेसम्म संघिय सरकारबाट १० करोड र प्रदेश सरकारबाट ४ करोडमात्रै प्राप्त भएकाले थप रकम प्रदेश सरकारले व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।