
दाङ, ६ चैत । नेपाली कांग्रेस तुलसीपुरमा आन्तरिक गुटबन्दी खुलेर देखिन थालेको छ । नगर सभापति सुरेश हमालले फेसबुकमार्फत पार्टीभित्रको विभाजनप्रति कटाक्ष गर्दै नेतृत्वकै कारण चुनावमा हार व्यहोर्नुपरेको आरोप लगाउनुभएको छ ।
सभापति हमालले आफ्नो फेसबुक पोस्टमा लेख्नुभएको छ–‘तिमीहरू हराउन मेहनत गर्छौ, हामी जिताउन मेहनत गर्छौं, यही त फरक छ तिमी र हामीमा ?’

उहाँको यो भनाईले कांग्रेसभित्रको आन्तरिक संघर्षलाई उजागर गर्ने संकेतका रूपमा हेरिएको छ ।
हालै सम्पन्न तुलसीपुर खानेपानी संस्थाको चुनावमा कांग्रेसले प्यानल नै जिते पनि सचिव पदमा पराजय भोग्नुपरेको थियो । त्यस्तै, राप्ती बबई क्याम्पस तुलसीपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा पनि गुटबन्दीकै कारण नेविसंघ भित्र विद्रोह भएको थियो ।
कांग्रेसका अर्का नेता अरुण लहरेले सामाजिक सञ्जालमा सभापति हमालको भनाइप्रति प्रतिक्रिया दिँदै गुटबन्दीको दोहोरो मापदण्डमाथि प्रश्न उठाउनुभएको छ । ‘आफैं बोक्सी ! आफै धामी !! बिरामीलाई दोहोरो मार !! हिजो उद्योग वाणिज्य संघमा खुला हस्तक्षेप जायज थियो भने आज विद्यार्थी संगठनले त्यही गर्दा कारबाही किन ?’

कांग्रेस नेताहरूबीच सामाजिक सञ्जालमै देखिएको यो आरोप–प्रत्यारोपले पार्टीभित्रको विभाजन थप सतहमा आएको देखिएको छ । स्थानीयस्तरमा संगठन सुदृढ पार्नेभन्दा गुटगत स्वार्थ हावी हुँदै गएको नेताहरू नै स्वीकार्न थालेका छन् ।