
दाङ, ६ चैत ।
तुलसीपुरको राप्ती बबई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व नेपाल विद्यार्थी संघको पोल्टामा परेको छ ।
कांग्रेस निकट नेवि संघले एउटा सदस्याबाहेक सबै पदमा जित हासिल गरेको हो । स्ववियू सभापतिमा प्रमोद भण्डारी निर्वाचित हुनुभएको छ । बुधबार दिउँसो सकिएको अन्तिम मत परिणाम अनुसार नेविसंघका भण्डारीले ७३७ मत ल्याएर निर्वाचित हुनुभएको हो ।
उहाँका निकटतम प्रतिष्पर्धि संयुक्त विद्यार्थी प्यानलका लेखमणी खत्री(लक्ष्मण)ले ३८९ मत प्राप्त गर्नुभएको छ । भण्डारी र खत्रीबिचको मतान्तर ३४८ रहेको छ । अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको थियो । अध्यक्ष पदमा स्वतन्त्रबाट उम्मेदवारी दिएका कोमल बहादुर ओली(केवि) ले १३७ मत ल्याउनुभएको छ भने स्वतन्त्ररुपमा नै उमेदवारी दिएका कृष्ण केसी(डेभिड खत्री)ले २९ मत ल्याउनुभएको छ ।
यस्तै सचिव पदमा नेविसंघका उम्मेदवार टोपबहादुर ओली निर्वाचित हुनुभएको छ । ओली संयुक्त विद्यार्थी प्यानलका सोनिया थापालाई ४७ मतले पछि पादै निर्वाचित हुनुभएको हो । ओलीले ६१२ मत ल्याउनु भएको छ भने उहाँको प्रतिस्पर्धि थापाले ५६५, स्वतन्त्रका अंकिता डाँगीले ५७ मत ल्याउनुभएको छ ।
कोषाध्यक्ष पदमा पनि नेविसंघका उम्मेदवार शिक्षा नेपाली निर्वाचित हुनुभएको छ । उहाँले संयुक्त विद्यार्थी प्यानलका तिलकराज डाँगीलाई ११५ मतलेपछी पादै निर्वाचित हुनुभएको हो । नेपाली ५६२ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धि डाँगीले ४४७ मत ल्याउनुभएको छ । स्वतन्त्रका आसिक मियाँले ९५ मत मात्रै ल्याउनुभएको छ ।
सदस्यहरुमा नेविसंघका मनिषा चौधरीले ७६२, रुपेश चौधरीले ७५४, याम कुमारी भण्डारीले ७४६, सञ्जिव चौधरीले ७१४ मत ल्याएर निर्वाचित हुनुभएको छ । यस्तै नेविसंघ कै ममता ओलीले ७३९, करुणा नेपालीले ७१५, लक्ष्मण ओलीले ८२५ र संयुक्त विद्यार्थी प्यानलका दिलिप शर्मा (दिपक) ले ५५३ मत ल्याएर निर्वाचित हुनुभएको छ ।
जिल्लाको दोस्रो ठूलो क्याम्पस तुलसीपुरको राप्ती बबइ क्याम्पसमा नेतृत्व चयनका लागि मंगलबार मतदान भएको थियो । निर्वाचन समितिका सूचना अधिकारी तथा प्राध्यापक चमन धितालका अनुसार क्याम्पसमा अध्यनरत ३ हजार ४१४ विद्यार्थी मध्य जम्मा १ हजार ४१७ जनाले मात्रै मतदान गरेका थिए ।