२०८२ बैशाख १० गते बुधवार

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको ‘जनसम्पर्क विस्तार अभियान’ उद्घाटन


दाङ, ४ चैत । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले आफ्नो ४ नम्बर व्युरोअन्तर्गत ‘जनसम्पर्क विस्तार अभियान’ सोमबार केन्द्रीय योजनाअनुसार देशभर एकैसाथ उद्घाटन गरेको छ ।

४ नम्बर ब्युरो सदस्य तथा सल्यान जिल्ला इञ्चार्ज लालध्वजको अध्यक्षतामा भएको कार्यक्रममा ४ नम्बर ब्युरो सेक्रेटरी समिरले अभियानको उद्घाटन दाङ जिल्लाबाट गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अभियान अन्तर्गत विभिन्न चरणका कार्यक्रम गर्दै बैशाख १८ गते काठमाडौंमा समापन गरिनेछ । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय वैकल्पिक पोलिटब्युरो सदस्य तथा ब्युरो सेक्रेटरी समिरले वर्तमान सरकार दलाल पूँजीपति वर्गको चाकरी गर्न व्यस्त रहेको आरोप लगाउनुभयो ।

उहाँले अर्थतन्त्र कमजोर बन्दै गएको, गरिब किसान र मजदुर वर्गका समस्या समाधान गर्नुको साटो सरकार ठूला व्यवसायी र जग्गाधनीहरूको पक्षपोषण गरिरहेको टिप्पणी गर्नुभएको हो ।

उहाँले सुकुम्बासी समुदायका समस्या समाधान गर्नुको सट्टा सरकार उल्टै उनीहरूलाई बिस्थापित गर्न खोजिरहेको दाबी गर्नुभयो । सरकारलाई जनमुखी नीति अवलम्बन गर्न आग्रह गर्दै उहाँले सुकुम्बासी, गरिब तथा श्रमिक वर्गका अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

दाङ जिल्ला सेक्रेटरी ईश्वरीप्रसाद गैरेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा क्रान्तिकारी सुकुम्बासी संगठनका दाङ संयोजक तिलक बिक, अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य गोपाल बैद्यलगायत नेताहरूले मन्तव्य दिनुभयो ।

कार्यक्रमको संचालन मोतीराम र ४ नम्बर ब्युरो सदस्य तथा सल्यान जिल्ला इञ्चार्ज लालध्वजले गर्नुभएको हो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सञ्चालन गरेको ‘जनसम्पर्क विस्तार अभियान’ अन्तर्गत विभिन्न जिल्लामा कार्यक्रम गर्दै काठमाडौंमा समापन गरिने योजना रहेको छ । अभियानको मुख्य उद्देश्य पार्टीको सन्देश जनतासम्म पुर्‍याउनुका साथै किसान, मजदुर, सुकुम्बासी र श्रमिक वर्गका मुद्दालाई प्राथमिकतामा राख्ने रहेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस