
दाङ, २० फागुन । तुलसीपुर बजारमा खानेपानीको व्यवस्थापन गरिरहेको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आगामी नेतृत्वका लागि चुनावी रौनक शुरु भएको छ । खानेपानीको आगामी नेतृत्वका लागि प्रमुख दल नेपाली कांग्रेसबाट मात्रै अध्यक्षमा ६ जना आकंक्षि देखिएका छन् ।
कांग्रेसका एक नेताका अनुसार अध्यक्षमा बहालवाला अध्यक्ष यमकान्त भण्डारी र कोषाध्यक्ष भोला थापासहित ६ जना आकंक्षि देखिएका हुन् । अध्यक्ष पदका लागि यमकान्त भण्डारी, पवन बुढाथोकी, मदन धिताल, शोभाकार सापकोटा, भोला थापा र एकराज आचार्य गरी ६ जना आकंक्षि देखिएका हुन् ।
यस्तै उपाध्यक्षमा नारायण शर्मा, गिरधारी पौडेल, पूर्णप्रसाद धिताल गरी तीन जना आकंक्षि देखिएका छन् ।
सचिवमा रन्जन गौतम र गोपाल शर्मा भट्टराईको नाम चर्चामा छ भने कोषाध्यक्षमा चार जना आकंक्षि देखिएका छन् । खानेपानीमा कोषाध्यक्ष पदका लागि शरद रेग्मी, मेघराज न्यौपाने, गोरख वली, बिराज डाँगी आकंक्षि देखिएका छन् ।
यसैबिच नेपाली कांग्रेसले मंगलबार (आज) बेलुकासम्म उमेदवारको टुंगो लगाउने दावि गरेको छ । नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमालले आज बेलुकासम्म उमेदवारको टुंगो लगाउने बताउनुभयो । कांग्रेसमा धेरै जना आकंक्षि देखिएका कारण पनि उमेदवारको टुंगो लगाउन सकस परेको छ ।
तुलसीपुर खानेपानीको आगामी नेतृत्वका लागि नेकपा एमालेले पनि उमेदवारको टुंगो लगाउन सकेको छैन् । नेकपा एमालेबाट अध्यक्षमा हालका सचिब सेवकराम भण्डारी र पूर्व सचिव मनोज लामिछानेको नाम चर्चामा छ ।
नेकपा माओवादी केन्द्रले भने सीताराम शर्मालाई अध्यक्ष पदको उमेदवार बनाउने निर्णय गरिसकेको छ । शर्मा हालका उपाध्यक्ष हुनुहुन्छ । खानपानीको आगामी नेतृत्वका लागि २ चैतमा निर्वाचनको मिति तोकिएको छ । आगामी नेतृत्वका लागि भोलि बुधबार मनोनयन दर्ताको समय तोकिएको छ । निर्वाचन समितिका अनुसार भोलि नै उमेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।