
दाङ, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज दाङ आउँदै हुनुहुन्छ । हेलिकप्टरमार्फत दाङ आउन लाग्नुभएका ओलीले नेकपा एमालेले आयोजना गरेको आमसभालाई सम्बोधन गर्नुहुनेछ ।
उहाँले घोराहीइमा आयोजित आमसभालाई सम्बोधन गर्नुअघि लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको लुम्बिनी प्रदेश सभा सचिवालयले जनाएको छ ।
दाङमा प्रमुख दलका शिर्ष नेताको दौडधुप बढेको छ । यसअघि माघको २६ र २७ गते पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दाङ आउनुभएको थियो ।
देउबा आउनुभन्दा ठीक १६ दिन अगाडि पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाङलाई दुई दिनसम्म सम्बोधन गर्नुभएको थियो ।
त्यसो त पूर्व राजा ज्ञानेन्द्रले पनि गत मंसिर २० गते दाङको तुलसीपुर देखि घोराहीसम्मकै भ्रमण गर्नुभएको थियो । शीर्ष नेताहरूको दाङ भ्रमण भइरहँदा चुनाव केन्द्रित हो या दाङको विकासका लागि यसै भन्न सकिने अवस्था छैन् ।
तर ठूला दलका नेताहरूको रोजाईमा दाङ भ्रमण एकैपटक जुर्नुलाई दाङबासीले नजिकबाट नियालिरहेका छन् शीर्ष नेताहरुले दाङ भ्रमण गरिरहँदा यसले समग्र राप्तीलाई नै चलायमान बनाउने अपेक्षा पनि छ ।
शीर्ष नेताको दाङ भ्रमण भइरहँदा दाङबासीका धेरै ठूला अपेक्षा छैनन् । नागरिकले दुई उपमहानगरपालिका जोड्ने धुलाम्मे सडक मुक्ति चाहेका छन् भने टरीगाउँ विमानस्थलमा नियमित हवाई सेवा चाहेका छन् ।