
दाङ, ३ फागुन ।
तुलसीपुरको एक घरमा प्रहरीले छापा मारेर लुकाइराखेको अवस्थामा दुई थान भरुवा बन्दुकसहित हातहतियारमा प्रयोग हुने सामग्री बरामद गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका–४ मुलकोटका अन्दाजी ४५ वर्षीय भुप बहादुर पुनको घरमा अवैध हतियार लुकाइ राखिएको भन्ने गोप्य सूचनाका आधारमा शनिबार प्रहरी टोलीले छापा मारेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो ।
प्रहरीले घरको माथिल्लो तलाबाट १ नाले २ थान भरुवा बन्दुक, करिब २५० ग्राम बारुद, २४ थान सिसाको गोली, १४ वटा फलामको ब्यारीङ तथा अन्दाजी ३ किलोग्राम सिसा (गोली बनाउन प्रयोग गरिने) बरामद गरेको छ ।
प्रहरीले हतियार बरामद गरी थप अनुसन्धान अघि बढाएको छ । आरोपी भुप बहादुर पुन भने फरार रहेको र घरमा परिवारका अन्य सदस्यहरू पनि नभएकाले घटनाको विस्तृत विवरण आउन बाँकी रहेका प्रहरीले जनाएको छ ।