
रुकुम पूर्व, ३० माघ । रूकुम पूर्वमा दुई जना छिमेकीलाई खुकुरी प्रहार गरी भाग्दै गरेका व्यक्तिको भिरबाट लडेर त्यही खुकुरीले लाग्दा मृत्यु भएको छ । भूमे गाउँपालिका – ४ मा मंगलबार दिउँसो सवा ३ बजेतिर ६० वर्षीया ढाँटी बुढा र उहाँका ८ महिनाका नाति समिर बुढाको खुकुरी प्रहार गरी हत्या भएको थियो ।
जिल्ला प्रहरी प्रमुख डिएसपी माधव खरेलका अनुसार उनीहरूको हत्या छिमेकी ५१ वर्षीय चन्द्रसिंह पुनले गरेका थिए । हजुरआमा र नातिको हत्या गरी पुन भागेको भन्ने खबर पाउनासाथ ठूलो संख्यामा प्रहरी परिचालन भएको थियो ।
हत्यामा प्रयोग भएको खुकुरी देखाउँदै एक जना भागेको भन्ने सूचनामा आधारमा हामी झन्डै सत्तरीको हाराहारीमा प्रहरी परिचालन गरिएको थियो । डिएसपी खरेलले फरार अभियुक्तको खोजी गर्दै जाने क्रममा उनी पनि खुलखुले खोलामा मृत अवस्थामा फेला परेको बताउनुभयो ।
खुलखुले खोलामा मृत अवस्थामा फेला परेको पुनको टाउकोमा धारिलो हतियार प्रहार भएको देखिएको थियो । डिएसपी खरेलका अनुसार ठूलो संख्यामा प्रहरी परिचालन भएको र आफूलाई खोजी गर्न आएको थाहा पाएपछि पुन भाग्ने क्रममा भिरबाट लडेका थिए । त्यही बेला उनले हत्यामा प्रयोग गरेको खुकुरीले उनको टाउकोमा लागेको थियो ।
भिरबाट लडेको र खुकुरीले टाउकोमा गम्भीर चोट लागेको घटनास्थलको प्रकृतिबाट खुल्ने डिएसपी खरेलले बताउनुभयो । पुनले नाबालक र उनकी हजुरआमाको हत्या किन गरे भन्नेबारे अनुसन्धान हुन बाँकी रहेको उहाँले बताउनुभयो ।–सेतोपाटीबाट