
दाङ, २९ माघ । १४ वर्षीया बालिकालाई घरेलु मजदुरका रूपमा ६ वर्षसम्म बन्धक बनाई शारीरिक यातना दिएकी एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्माले उन्मुक्ति पाउनुभएको छ ।
सरकारी वकिल कार्यालय काठमाडौंले बाल श्रमशोषणमा शर्मा विरुद्ध मुद्दा नचलाउने निर्णय लिएको छ भने उच्च सरकारी वकिल कार्यालय पाटनले पनि यसलाई वैधता दिएको छ । अब महान्यायाधिवक्ता कार्यालयबाट त्यसलाई सदर गर्ने सरकारको तयारी छ ।
सांसद शर्माविरुद्धको मुद्दा नचलाउने आफ्नो निर्णय सरकारी वकिल कार्यालय काठमाडौंले उच्च सरकारी वकिल कार्यालय पाटन पठाएको थियो । उच्चले पनि जिल्लाकै निर्णय सदर गर्दै महान्यायाधिवक्ता कार्यालय पठाइसकेको छ । अब मुद्दा चल्ने–नचल्ने विषयमा अन्तिम निर्णय महान्यायाधिवक्ताले लिनेछन् ।
जिल्ला सरकारी वकिल कार्यालय स्रोतका अनुसार महान्यायाधिवक्ता कार्यालयको निर्देशनपछि जिल्ला सरकारी वकिल कार्यालयले शर्माविरुद्ध मुद्दा नचल्ने निर्णय लिएको हो ।
शर्मा दाङको तुल्सीपुर उपमहानगरपालिका– ५ की स्थानीय हुनुहुन्छ । उहाँको धुम्बाराहीमा निजी निवास छ । सोही निवासमा कक्षा ७ मा अध्ययनरत १४ वर्षीया बालिकालाई ६ वर्षदेखि बन्धक बनाई राखेको पत्ता लागेपछि बालिकाको काठमाडौं महानगरपालिकाले उद्धार गरेको थियो ।
महानगरपालिकाले घटना सार्वजनिक गरेपछि गत भदौमा संसद्मा हंगामा मच्चिएको थियो । महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’ले सामाजिक सञ्जालमार्फत शर्मालाई कारबाही गर्नसमेत भन्नुभएको थियो ।
दबाबपछि उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा मुद्दा दर्ता भएको थियो । तर, मुद्दा अदालतसम्म पुग्न सकेको थिएन । सरकारी वकिल कार्यालय सोही मुद्दा नचलाउने निर्णयमा पुगेको हो । –नयाँ पत्रिकाबाट