२०८१ चैत्र ८ गते शुक्रवार

हेलिकप्टरबाट दाङ आएका कांग्रेस सभापति देउवाले भने– ‘टरिगाउँ एयरपोर्ट स्तरोन्नतीमा पहल गर्छु’

दाङ, २६ माघ । प्रमुख राजनैतिक दललाई आगामी चुनावको नतिजा आफ्नो पक्षमा पार्ने चिन्ता अहिलेबाटै शुरु भएको छ । अझै विषेशगरी लुम्बिनी प्रदेशको राजधानी दाङलाई नै टार्गेटमा राखेर प्रमुख राजनीतिक दलले गतिविधिलाई सक्रिय बनाउन थालेका छन् ।

आगामी राजनीतिक गतिविधि तथा संगठन सुदृढीकरणका लागि दाङमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको दौडधुप बढेको पछिल्ला गतिविधिले स्पष्ट देखिन्छ । प्रमुख राजनैतिक दलहरुले विभिन्न कार्यक्रमको बहाना बनाएर शिर्ष नेताहरुलाई दाङ ल्याउन थालेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दाङमा आएको करिब दुई सातापछि आज फेरि नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दाङ आइपुग्नुभएको छ ।

हेलिकप्टरमार्फत दाङ आउनुभएका देउवाले पनि टरिगाउँ विमानस्थलको स्तरोन्नती गर्न पहल गर्ने आश्वासन बाँड्नुभएको छ । उहाँले टरीगाउँ एयरपोर्टलाई ठूलो बनाई नियमित हवाई उडान विस्तारमा आफू र आफ्नो पार्टीको तर्फबाट सरकारलाई दबाब दिने दावि गर्नुभएको छ ।

देउवाको आगमनसँगै कांग्रेसका नेता–कार्यकर्ताहरूमा उत्साह देखिएको छ । तर जनता भने खासै आशावादी छैनन् । जनतालाई घर कसरी चलाउने चिन्ता भइरहेका बेला नेताको बोलीमा भर लाग्न छोडेको छ ।

पार्टीको आन्तरिक सुदृढीकरण, संगठन विस्तार तथा आसन्न राजनीतिक घटनाक्रमबारे छलफल गर्न देउवा दाङ आएको उहाँ निकट स्रोतले जनाएको छ ।

देउवाले शनिबार दंगीशरण गाउँपालिका–३ चखौरास्थित थारु सङ्ग्रहालयमा प्रदेशस्तरीय थारु सांस्कृतिक तथा रैथाने खाना महोत्सवको उद्घाटन गर्न आएको जस्तो देखिएपनि उहाँले दाङमा पार्टी कार्यकर्तासँग भेटघाट, कार्यकर्ता प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ ।

देउवा दाङमा दुई दिन रहने र उहाँको उपस्थितिमा आइतबार जिल्ला पार्टी कार्यालय घोराहीमा पनि कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले बताउनुभयो ।

दाङमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र आफ्नो संगठनलाई बलियो बनाउन सक्रिय भएका छन् । आउँदो फागुन ५ गतेमात्रै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली दाङ आउँदै हुनुहुन्छ ।

प्रकाशित मिति : २०८१ माघ २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस