
दाङ, ५ माघ । जिंगटको रूखबाट खसेर मृत्यु भएको भनिएका दंगीशरण २ कौवाघारीका प्रेमलाल कुसारीको गोली हत्या भएको खुलेको छ ।
माघ ३ गते बेलुकी घर नजिकैको जिंगटको रूखबाट खसेर घाइते भएको भन्दै स्थानीयले उचारका लागि उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याएका थिए ।
खुट्टाको घुँडा र साप्रोमा गम्भीर चोट लागेका उनलाई थप उपचारका लागि नेपालगन्ज लगिएको थियो । त्यहाँ चिकित्सकले कुसारीलाई मृत घोषणा गरेका थिए । गएराति शव घर ल्याएर राति नै उनको दाहसंस्कार गर्ने तयारी थियो ।
तर, छिमेकीले कुसारीलाई गोली हानिएको सुचना लिक गरेपछि दाहसंस्कार रोकिएको थियो । प्रहरी गएराति नै मृतकको घरमा पुगेर अनुसन्धान थालेको थियो ।
प्रहरी स्रोतका अनुसार केहीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा शिकार खेल्न गएका बेला बन्दुक आफैँ पड्केर कुसारीको ज्यान गएको बयान दिएका छन् ।
उनीसँग सँगै जंगल गएका छविलाल डांगी र पुष्प बस्नेत फरार छन् । छिमेकीका अनुसार तीनै जनाले संगै मदिरा सेवन गरेका थिए भने पुष्प र छविलालले कुसारीलाई घट्टेखोला जंगलमा लगेका थिए । घटना स्थल दंगीशरण २ कै घट्टेकुला वन क्षेत्र हो ।
यसैबिच गोली हानेर साथीको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दंगीशरण- २ कौवाघारीमा प्रेम कुसारीको गोली हानी हत्या गरेको अभियोगमा दंगीशरण- २ कै छविलाल डांगी र पुष्प बस्नेत पक्राउ परेका हुन् ।
प्रहरीले छविलाललाई बाँकेको कोहलपुर र पुष्पलाई तुलसीपुर बजारबाट पक्राउ गरेकाे हाे । -नेपाल प्रेसबाट