
कास्की, ५ माघ । पोखराको सूर्यदर्शन सहकारी ठगी आरोप लागेपछि फरार रहेका गीतेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ ।
न्यायाधीश हिमलाल बेल्बासेको हिजोको इजलासले राईको राहदानी रद्द गर्न आदेश दिएको हो । राहदानी रद्द गर्न राहदानी विभागमा पत्र पठाउने निर्णय भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिल कार्यालयमार्फत जीबीलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याउनका लागि राहदानी रद्द गर्न माग गर्दै अदालतमा निवेदन दिएको थियो ।
राई तत्कालीन गोरखा मिडिया नेटवर्कका अध्यक्ष हुन् । हाल उनी मलेसियामा रहेको अनुमान गरिएको छ । प्रहरीले उनलाई पक्राउ गर्न टोली मलेसियामा टोली पठाए पनि पक्राउ गर्न सकेको थिएन ।
जीबी राईमाथि काठमाण्डौको स्वर्णलक्ष्मी, चितवनको सहारा चितवन, रुपन्देहीको सुप्रिम, वीरगञ्जको सानोपाइला र कास्कीको सूर्यदर्शन सहकारी ठगीमा संलग्न रहेको आरोप लागेको छ । उनीविरूद्ध कास्की र काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ ।