
दाङ, २९ पुस । तुलसीपुर नगर जेसिजले एक वर्षभित्र गरेका कामको प्रगति विवरण सार्वजनिक गरेको छ । जेसिजले सोमबार तुलसीपुरमा गरेको कार्यक्रममा एक वर्षभित्र गरेका कामको प्रगति विवरण सार्वजनिक गरेको हो ।
जेसिजले १ वर्षको अवधिमा ४२ वटा कार्य प्रगति गरेको हो । तुलसीपुर नगर जेसिज वर्ष २०२४ का अध्यक्ष पूर्णबिक्रम डाँगीले आफ्नो कार्यकाल एक वर्षको अवधिमा विकट क्षेत्रमा स्वास्थ्य शिविर संचालनदेखि भौतिक संरचना निर्माण गरेको प्रगति विवरण सार्वजनिक गर्नुभएको हो ।
उहाँका अनुसार गत वर्षको पुस २८ गतेदेखि यसवर्षको पुस १२ गतेसम्म जेसिजले ट्राफिक सेचतना, मानव सेवा आश्रमको भवन निर्माणार्थ सहयोग, लागुपदार्थ दुर्व्यसनी न्यूनिकरण तथा साइबर क्राइम सम्बन्धी सचेतना, वृक्षारोपन, घरेल औजारको प्रयोगले चार किलोमिटर सडक निर्माण गर्ने चन्द्रबिर वलीलाई सम्मान लगायतका काम गरेको छ ।
यस्तै युवा र जनप्रतिनिधिबिच अन्तरक्रिया, बालबालिकालाई न्यानो कपडा वितरण, युवा सशक्तिकरण लगायतका काम गरिएको अध्यक्ष डाँगीले बताउनुभयो । उहाँका अनुसार जेसिजले तुलसीपुरको अरनिको मैदानमा सार्वजनिक शौचालय र राप्ती शान्ति उद्यानमा जेसिज बाटिका निर्माणाधिन अवस्थामा रहेको छ ।
कार्यक्रममा पूर्व अध्यक्ष मेघराज घिमिरे, केशवराज केसी, शालिकराम वली, पत्रकार गोपाल शर्मा भट्टराई, बसन्त पौडेल, एकराज भण्डारी, दिपक बोहरा, निरला अर्याल लगायतले मन्तव्य राख्नुभएको हो ।
उपाध्यक्ष केशवराज न्यौपानेको जेसिज आस्थापाठबाट शुरु भएको कार्यक्रमको सहजीकरण सल्लाहकार बुद्धि सापकोटाले गर्नुभएको हो । यसैबिच तुलसीपुर नगर जेसिजको १३ औँ पद हस्तान्तरण तथा सम्मान कार्यक्रम आउँदो माघ ५ गते हुने वर्ष २०२४ का अध्यक्ष डाँगीले बताउनुभयो । उहाँले सो कार्यक्रममा उपस्थितिका लागि सम्पूर्णमा अनुरोध समेत गर्नुभएको छ ।