२०८१ फाल्गुन ६ गते मङ्गलवार

पश्चिमी क्षेत्रको मौसममा बदली : कतै कतै वर्षाको संभावना


दाङ, २८ पुस । लुम्बिनी प्रदेशसहित पश्चिमी क्षेत्रमा आज मौसममा बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार गएरातिदेखि पश्चिम नेपालका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी क्षेत्रको माथिल्लो भागबाट बदली शुरु भएको र यो फैलिने क्रममा छ ।

आज दिउँसोपछि मध्य तथा पूर्वी नेपालका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि बदली हुने सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिनुभयो ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा बागमती र गण्डकीका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज मधेस प्रदेशबाहेकका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । मौसमविद् महर्जनका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण मौसम बदली भएको हो ।

महाशाखाले देशका उच्च पहाडी तथा हिमाली धेरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ ।

यो प्रणाली केही दिनअघि भएको बदली जस्तै देखिने भए पनि ठूलो पानी पार्ने सम्भावना छैन् । भोलिदेखि मौसममा सुधार हुने मौसमविद्को अनुमान छ । तराईका कतिपय क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो कायमै छ । देशभर चिसो बढेकाले जनजीवन प्रभावित भएको छ ।

प्रकाशित मिति : २०८१ पुष २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस