२०८१ फाल्गुन ६ गते मङ्गलवार

हुनेले दिने, नहुनेले लिनका लागि तुलसीपुरमा ‘कपडा बैंक’ संचालन


दाङ, २७ पुस । तुलसीपुरमा कपडा बैंक सञ्चालनमा आएको छ । आर्थिक रूपमा कमजोर तथा विपन्न समुदायका व्यक्तिहरूलाई निःशुल्क कपडा उपलब्ध गराउने उद्देश्यले तुलसीपुरको बसपार्क भित्र जाने बाटो छेउमा यो बैंक स्थापना गरिएको हो ।

तुलसीपुर–७ जीतपुर निवासी समाजसेवी उपेन्द्र पौडेलको नेतृत्व र घोराही–१५ निवासी रविन ज्ञवालीकासहित विभिन्न व्यक्तिको सहयोगमा कपडा बैंक सञ्चालनमा आएको हो ।

हुनेले कपडा दिने र नहुनेले निशुल्क कपडा लिनका कपडा बैंक संचालनमा आएको समाजसेवी पौडेलले बताउनुभयो । उहाँका अनुसार कपडा बैंकले समाजका गरिब तथा विपन्न वर्गलाई सहायता पुर्‍याउनेछ र सहयोगी भावनाको प्रवद्र्धन गर्नेछ ।

कपडा बैंकमा नयाँ र प्रयोग गर्न मिल्ने पुराना कपडा संकलन गरी आवश्यकता अनुसार विपन्न नागरिकले लिन सक्नेछन् । नागरिकहरूले आफूलाई अनुपयोगी भएका कपडा दान गर्न सक्नेछन् ।

कपडा बैंकबाट विशेष गरी जाडो मौसममा चिसोले समस्या झेलिरहेका विपन्न परिवारहरूलाई राहत हुने अपेक्षा गरिएको छ । कपडा बैंकको सफलताका लागि निरन्तर अनुगमन र समन्वय गरिने समाजसेवी पौडेलले बताउनुभयो । अभियानमा सहभागी हुन इच्छुक दाताहरूलाई सक्रिय हुन अपिल गरिएको छ ।

प्रकाशित मिति : २०८१ पुष २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस