
दाङ, २७ पुस । दाङको तुलसीपुरमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३ औ जन्म जयन्ती मनाइएको छ । शाहको जन्मजयन्तीको अवसरमा पृथ्वीनारायण स्मृति प्रतिष्ठानले शनिबार कार्यक्रम गरेको हो ।
पृथ्वीनारायण स्मृति प्रतिष्ठान दाङका अध्यक्ष मीन बहादुर केसीको अध्यक्षता रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
अध्यक्ष केसीले २०७३ सालमा स्थापना भएको संस्थाले देशभक्ति तथा राष्ट्र निर्माता शाहको जन्मजयन्ती, त्याग र बलिदानको सम्मान गर्न हरेक वर्ष जन्मजयन्तीमा विषेश कार्यक्रम गर्ने गरेको बताउनुभयो ।
उहाँले पछिल्लो समय नयाँ पुस्ताहरूले इतिहासलाई बिर्सदै गएकोप्रति दुख व्यक्त गर्दै इतिहासबारे आम नागरिकलाई सुसूचित गर्नुपर्नेमा जोड दिनुभयो ।
रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मीले प्रतिष्ठानले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानलाई कदर गरेको र युवापुस्तामा उहाँको इतिहास बुझाउन आवश्य रहेको बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका सदस्य तारा प्रसाद पुन, रिपोटर्स क्लब दाङका महासचिव बिमल गौतम,चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीले मन्तव्य राख्नुभएको हो ।
प्रतिष्ठानका सदस्य बुद्धिराम काफ्लेको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव ठाकुर डाँगीले गर्नुभएको हो ।