
दाङ, २३ पुस । पूर्वदेखि पश्चिमसम्म आज हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज पश्चिममाभन्दा पूर्वमा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधकारीले बताउनुभयो ।
आज कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिमका धेरै ठाउँमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।
तर कुनै बेला एउटा दिशामा हिँडिरहेको वायु अचानक अन्तै मोडिने तथा निष्क्रय हुने हुँदा पूर्वानुमानअनुसार वर्षा र हिमपात नहुने मौसमविद्ले बताउँदै आएका छन् ।
वर्षा र हिमपातका कारण चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ । भोलिदेखि मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।
यस्तै तराईमा बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर बनेको छ । दिनभर घाम नलागेर चिसो बढेपछि ज्येष्ठ नागरिक, बालबालिकाहरू बढी प्रभावित भएका छन् ।