
दाङ, २१ पुस ।
दाङको तुलसीपुरमा मानव सेवा आश्रमको भवन निर्माणको काम अलपत्र परेको छ । आश्रमको भवन निर्माणका लागि शिलान्यास भएको एक वर्ष पुग्न लाग्दा पनि निर्माणको काम नै सुरु हुन सकेको छैन ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ र ७ को सिमानामा पर्ने कालिका मालिका मन्दिर परिसर हलवारमा निर्माण हुने भवनको काम अझै सुरु हुन नसकेको हो । शिलान्यास गरिएको ठाउँमा झारले घपक्क ढाक्न थालेको छ ।
विभिन्न कागजी प्रक्रियाहरु मिलाउनुपर्ने भएकोले पनि निर्माणको काम सुरु नभएको मानव सेवा आश्रम दाङ शाखा प्रमुख हिरु जोशीले रेडियो हाम्रो पहुँचलाई जानकारी दिनुभयो ।
महायज्ञ लगाएको रकमले भवन निर्माण गर्ने सल्लाह भएपनि प्रक्रिया नपुगेकै कारण भवन निर्माण सुरु गर्न नसकेको उहाँको भनाई छ । कागजी प्रक्रियाको काम भइरहेकोले अब पहिलो चरणमा एक फलाइट भएपनि भवन निर्माण गर्ने योजनामा रहेको उहाँले जानकारी दिनुभयो ।
कालिका मालिका मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष श्रवण कुमार आचार्यले जग्गाको लालपूर्जा नभएकोले भवन निर्माणको काम सुरु हुन नसकेको बताउनुभयो । उहाँले संघिय सरकारले लालपूर्जा नभएको जग्गामा सरकारी रकम लगानी गर्न नमिल्ने निर्णय गरेको र मन्दिरको संरक्षणमा जग्गा भएपनि लालपूर्जा नहुँदा समस्या भएको बताउनुभयो ।
अब लालपूर्जाको काम टुङगिएपछि भवन निर्माणको काम अगाडी बढ्ने उहाँको भनाई छ । लालपूर्जाको लागि कित्ता नम्बर ९ ज साबिक हलवार ४१ मा रहेको १ बिगाह २ कट्ठा साढे १७ धुर जग्गा मन्दिरको नाममा ल्याउनको लागि मालपोत कार्यालय तुलसीपुरमा छुट कित्ताको निवेदन दर्ता गराएको आचार्यले जानकारी दिनुभयो ।
प्रक्रिया पुरा भएपछि भवन निर्माणको काम सुरु हुने उहाँको भनाई छ । प्रक्रिया पुरा भएपछि लालपूर्जा कालिका मालिका मन्दिरको नाममा आउने र मन्दिरको नाममा जग्गा भएपनि जग्गाको भोगाधिकार मानव सेवा आश्रमलाई दिने गत वर्ष नै पालिकासंग सम्झौता भइसकेको छ ।
भवन निर्माणका लागि गत वर्ष असार ७ गते जग्गाको सर्भे गरिएको थियो । त्यसको ठिक आठ महिनापछि गत वर्ष माघ ७ गते लुम्बिनी प्रदेशका तत्कालीन अर्थ मन्त्री धन बहादुर मास्की र तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले शिलान्यास गर्नुभएको थियो ।
भवन निर्माणका लागि सहयोगार्थ भनि गत वर्ष माघ १३ गतेदेखि २० गतेसम्म अरनिको मैदान तुलसीपुरमा ज्ञानविज्ञान महायज्ञ संचालन पनि भयो । महायज्ञ लगाएर ५ करोड रुपैया संकलन गर्ने लक्ष्य लिएकोमा प्रतिबद्धता सहित ५ करोड ४९ लाख ६२ हजार ३ सय ११ रुपैया संकलन भएको थियो ।
जसमध्ये महायज्ञबाट २ करोड ७४ लाख २० हजार ९ सय २९ रुपैँया प्रतिबद्धता मात्रको रकम संकलन भएको थियो । जुन अहिले उठ्न बाँकी रहेको छ ।
करिब १५ करोडको लागतमा भवन निर्माण हुने मानव सेवा आश्रमको योजना रहेको छ । दाङ शाखाका प्रमुख जोशीले अहिले मानव सेवा आश्रमको नाममा साढे २ करोड रकम बैंकको खातामा रहेको बताउनुभयो । भवन निर्माणको काम सुरु नभएकोले प्रतिबद्धता गरेका रकम आउन बाँकी रहेको उहाँको भनाई छ ।
तुलसीपुर उपमहानगरपालिकाका भवन अनुमति तथा मापदण्ड कार्यान्वयन शाखाका प्रमुख श्रीनारायण चौधरीले नक्सा पासको लागि साढे २ महिना अगाडी मात्रै मानव सेवा आश्रमका पदाधिकारीहरु कार्यालयमा आएको बताउनुभयो । जग्गाको लालपूर्जा नभएकोले नक्सा पासको पक्रिया अघि नबढेको उहाँको भनाई छ ।
जग्गाको लालपूर्जा भएपछि मात्रै नक्सा पास हुने र भवन निर्माणको प्रक्रिया अगाडी बढाउन सकिने उहाँले जानकारी दिनुभयो ।